पर्वत कारागारका ८ जना कैदीबन्दी अझै फर्किएनन्, एक साताभित्र फर्किन निर्देशन  - News site from Nepal
पर्वत १३ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका ८ जना कैदीबन्दी तीन साता वितिसक्दा पनि फर्किएका छैनन् ।
कारागारवाट भागेका १९ जना मध्ये ११ जना फर्किएको वा पक्राउ गरिएको भएपनि आठ जना अझै सम्पर्क बिहीन भएपछि फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सुचना जारी गरी एक साताभित्र फर्किन अनुरोध गरेको छ । कार्यदलले आइतवार सूचना जारी गर्दै असोज २० गतेभित्र कारागार फर्किन सुचना जारी गरेको हो ।
कार्यदलले उनीहरूको नामावली सहित सार्वजनिक सूचना जारी गरेको छ । फरार कैदीबन्दी असोज २० गतेभित्र नफर्किए कारागार ऐन, २०१९ तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी समेत दिईएको छ ।
फरार कैदीबन्दीमा खैरापुर २ बर्दिया घर भई कुश्मा नगरपालिका वडा नं. ७ खरेहा बस्ने जवरजस्ती करणी मद्धाका टेक बहादुर राना मगर, कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गर्दैै आएका पैंयू गाउँपालिका वडा नंं ३ बेउलीवासका दिपक सारु थापा भन्ने खेम थापा, पर्वतको विहादी गाउँपालिका वडा नंं. ६ का जवरजस्ती करणी मुद्धाका थुनुवा बसन्त विक, सहकारी ठगि मुद्धाका थुनुवा फलेवास नगरपालिका–२, थापाठानाका अनिल थापा, सहकारी ठगिकै मुद्धामा थुनुवा रहेका फलेवास नगरपालिका वडा नंं. ३ शंकरपोखरीका विष्णु तिवारी,
सोहि मुद्धाका विहादी–३ रानीपानी घर भई कुश्माबजार बस्ने राजु शर्मा रहेका छन् ।
यसैगरी गोरखा जिल्लाका अजिरकोट गाउँपालिका वडा नंं ५ घर भई जवरजस्ती करणी मुद्धामा कैद भुक्तान गर्दै आएका दिपक विक र जलजला गाउँपालिका वडा नंं. ७ बाँस्कोटका जवरजस्ती करणी मुद्धाका थुनुवा समुन्द्र केसी अझैसम्म पनि सम्पर्कमा नआएको जिल्ला कारागार पर्वतका जेलर नविन सुवेदीले जानकारी दिनुभयो ।
कार्यदलले सार्वजनिक सूचना मार्फत फरार कैदीहरूलाई देखेमा वा उनीहरूको बारेमा कुनै जानकारी भएमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरेको छ ।
कार्यदलले फरार व्यक्तिहरूलाई लुकाउने, छिपाउने, वा सहयोग गर्ने कार्य गैरकानुनी हुने भन्दै त्यसप्रति पनि सचेत हुन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम र पहिचान गोप्य राखिने जनाएको छ । फरार कैदीबन्दी फर्काउन आवश्यक समन्वय सहकार्यका लागि सवैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!