लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
दुई दिने महिला ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ सम्पन्न - News site from Nepal

पर्वत : पत्रकारिता क्षेत्रलाई प्रविधिसँग अझ सशक्त रूपमा जोड्दै नेतृत्व क्षमताको विकास गर्न उद्देश्य राखिएको ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ चैत १५ र १६ गते कुश्मामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा पर्वत जिल्लाका करिब ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पत्रकारिता आधुनिक प्रविधिको प्रयोग बिना अघि बढ्न नसक्ने अवस्था आएको बताउनुभयो । अहिलेको युगमा पत्रकारहरूले डिजिटल साक्षरतामा दक्षता हासिल गर्नु समयको आवश्यकता भएको भन्दै उहाँले स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्य बढ्दै जानु सकारात्मक सङ्केत भएको उल्लेख गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । पछिल्लो समय प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बनेको पत्रकारितालाई डिजिटल माध्यमले झनै चुनौती थपेको उहाँको भनाई छ । प्रविधिको तीव्र विकास भएसँगै आर्टिफिसियल इन्टीलीजेन्सको बढ्दो प्रयोगले लेख्नै नपर्ने अवस्था आएकोले अबको पत्रकारिता केही फरक र प्राविधिक हुनुपर्ने प्रजिअ घिमिरेको धारणा छ ।
यस्तै सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले पत्रकारिता क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न यस्तो तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पर्वत जिल्लाको पत्रकारिताको विकासको लागि कार्यालयले सानो सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले अनलाइन मिडिया, सामाजिक सञ्जाल, पोडकास्ट, युट्युबजस्ता प्लेटफर्ममार्फत खबर स्थानीयदेखि अन्तर्राष्ट्रिय पाठक÷दर्शकसम्म सजिलै पुग्ने बताउनुभयो । पछिल्लो समयमा धेरै समय लगाएर पढ्ने भन्दा पनि सामान्य एउटै तस्बिरले धेरै कुरा बोल्ने भएकोले आकर्षक र फरक तरिकाको पत्रकारिताको आवश्यकता रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले नेतृत्व विकास र डिजिटल दक्षता पत्रकारहरूको दीर्घकालीन क्षमता विकासका लागि अपरिहार्य रहेको बताउनुभयो । अब प्रविधिसँग नजोडी अघि बढ्न नसकिने अवस्था आएकोले पत्रकारिता पनि समयअनुसार रूपान्तरण हुनुपर्ने उहाँको सुझाव छ ।
सापकोटाकै अध्यक्षता र पत्रकार महासंघ पर्वतकी सहसचिव बिष्णु गौतम सापकोटाको स्वागतसँगै सञ्चालन भएको समापन कार्यक्रमको सञ्चालन महासंघका सचिव साजन परियारले गर्नुभएको थियो ।
प्रशिक्षणमा पत्रकारहरूलाई तथ्य जाँच, डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको उत्तरदायित्वपूर्ण प्रयोग, र नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षक प्रवेश सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!