प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव– धौलागिरिमा मेडिकल कलेज खोल्छौ – मन्त्री पाठक - News site from Nepal

पर्वत, १६ माघ : गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चिकित्सकले सरुवा हुँदा दुर्गम क्षेत्र रोज्नेगरी मन्त्रालयले तयारी गरेको बताउनु भएको छ ।

प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सुगम क्षेत्रमा दरबन्दी भन्दा बढि हुने तर विकट क्षेत्रका दरवन्दीनै खाली हुने प्रचलनलाई तोड्न मन्त्रालयले नीतिगत व्यवस्था गर्न थालेको बताउनुभयो । अब सुगम क्षेत्रमा काम गर्ने भन्दा दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई तलबसुविधा, बढुवा तथा अन्य प्रोत्साहनमा प्राथमिकता दिने तयारी गरिएको उहाँले बताउनुभयो ।

राज्यवाट प्रवाह हुने सवैखालका आधारभुत स्वास्थ्य सेवाहरु हरेक क्षेत्रका नागरिकले समान रुपमा पाउनुपर्छ भन्ने उद्धेश्यले स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारमा सक्रिय भएर लागेको पाठकले बताउनुभयो । मन्त्रालयको काम सकिएपछि दुर्गम क्षेत्र जान चाहनेहरुको संख्या उल्लेख्य हुने मन्त्री पाठकको दावी छ । ‘हामीले प्रोत्साहनमुलक कार्यक्रम ल्याएपछि मुस्ताङ, मनाङ, गोरखाका विकट गाउँमा पठाईदिनुहोस् भन्नेहरुको लाईन लाग्नेछ’– उहाँले भन्नुभयो ।

मन्त्री पाठकले साविकको धौलागिरि क्षेत्रमा मेडिकल कलेज संचालनको तयारी भैरहेको बताउनुभयो । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ मध्ये एक जिल्लामा मेडिकल कलेज स्थापना गरिने उहाँको दावी छ । मैले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर माग गरेको छु, धौलागिरीमा सुविधासम्पन्न मेडिकल कलेज अबको केहि वर्षमै संचालन गर्नेछौ ।’ शुरुमा स्टाफनर्स पढाई हुने उहाँको भनाई छ ।

मन्त्री पाठकले राज्यले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय बजेटको व्यवस्थपन गर्नुपर्ने बताउनुभयो । नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सुविधा दिनुपर्ने बताउँदै यसमा तीनै तहका सरकारको ध्यान जानुपर्ने उहाँको भनाई छ । मन्त्री पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले उपचार गर्ने भएकाले यसको स्तरोन्नतीलाई प्राथमिकता दिने उहाँको भनाई छ ।

उहाँले यसै महिनामा २५ शैयाको धौलागिरि आयुर्वेदीक अस्पताल स्थापना गरिनेजानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतले शुभकामना व्यक्त गर्दै अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक मनमोहन मिश्र, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक हेमन्त शर्मा पौडेल, धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारी, प्रादेशिक अस्पताल म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधान, पर्वत अस्पताल विकास समितिका पुर्व अध्यक्ष शिव पौडेल, पर्वत समाजका संरक्षक कृष्ण तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, लायन्स लिडर बसन्तकुमार कर्माचार्य, ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माकी संचालिका राधिका लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रदेश अस्पताल पर्वतका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बास्तो र संचालन पत्रकार दिपेश विकले गर्नुभएको थियो ।

बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, कार्यालय सहयोगी, सहयोगदातालाई सम्मान तथा विभिन्न खेलकुद प्रतियोगितामा बिजयी बनेकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!