कुश्मा बसपार्क कात्तिक १४ गतेदेखि संचालनमा आउने  - News site from Nepal
कुश्मा बसपार्क कात्तिक १४ गतेदेखि संचालनमा आउने 
पर्वत ११ कात्तिक : निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क संचालन गरिने भएको छ ।
यहि कात्तिक १४ गते शुक्रवारदेखि नियमित रुपमा बसपार्क संचालन गरिने भएको हो । मंगलवार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षिय छलफलमा शुक्रवारदेखि बसपार्क संचालन गर्ने निर्णय भएको हो । जनप्रतिनिधि, यातायात व्यावसायीहरु र अन्य सरोकारवालाबीचको छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सवै यातायात कम्पनीहरुका टिकट काउण्टर कात्तिक १४ गते एक बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय भएको छ ।
यसैगरी बसपार्कवाट छुट्ने सवै यातायात प्रालिका सवारी साधनहरु मध्ये ट्याक्सीको हकमा दुई/दुईवटा र अन्य सवारी साधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाईने, लामो दुरीमा आउजाउ गर्ने सवै सवारी साधनले शिवालय चोकमा यात्रु झार्न र  चढाउन पाउने,राजमार्गमो छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारी साधन बसपार्क भित्रै राख्नुपर्ने निर्णय पनि छलफलले गरेको छ ।
बसपार्क संचालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु. ११ लाख १९ हजार दुई सय ५२ रुपैयामा बोलपत्र आव्हान गरेको थियो । उक्त बोलपत्र युवा व्यावसायी दिपक फगामी पुनको नाममा स्वीकृत भएपछि संचालनको प्रकृया अघि बढेको थियो ।
अबदेखि नियमित रुपमा बसपार्कवाटै जिल्ला भित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क संचालक दिपक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतिक्षा गर्ने भन्ने झण्झट हटेर जाने र यसले अव्यवस्थित रुपमा हुँदै आएको पार्किङ्ग र दुर्घटनाहरु समेत न्यूनिकरण हुने उहाँले बताउनुभयो । पुनले बसपार्क संचालनका लागि रङ्गरोगन, विद्युतीकरण लगायत सवै तयारी सकिएको बताउनुभयो ।
निर्माण सम्पन्न भएर पनि बसपार्क संचालन नहुँदा निर्मित संरचनाहरु जीर्ण बनेको, अब्यवस्थित पार्किङ्गले सवारी दुर्घटनाहरु बढ्दै गएको, यात्रुहरुले सुरक्षित रुपमा सवारीसाधन प्रयोगगर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरुले बसपार्क संचालनको माग समेत गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!