पर्वत ११ असोज : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित अधिकांस मासु पसलहरु अब्यवस्थित रहेका छन् ।
चाडवाडको बेला बढि मात्रामा खपत हुने मासुको गुणस्तर र अवस्था अनुगमन गर्दा अधिकांस पसल मापदण्ड विपरित, गुणस्तरहिन, फोहोर भएको पाईएको हो । यस्तै कुश्मा, बेनी, मुस्ताङ समेत मासु सप्लाई गर्दै आएको एक पोल्ट्रि फार्ममा मरेका कुखुरा भेटिएका छन् ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शुक्रवार गरेको अनुगमनमा कुश्माको खत्रीटोलमा रहेको फ्रेस हाउस तथा पोल्ट्री फार्ममा पाँच वटा मरेका कुखुरा जफत गरिएको छ । ती कुखुरालाई भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा लगेर नष्ट गरिएको थियो ।

अन्य पसलहरुमा पनि सरसफाईको कमी, मुल्य सुचि नटागिएको, विक्रि गर्ने स्थान मापदण्ड विपरित राखिएको र मासु फ्रिजिङ गर्ने ठाउँमा अन्य घरायसी सामानहरु समेत राखिएको पाईएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका निमित्त कार्यालय प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । कतिपयले बिलबिजक समेत जारी नगरी विक्रि वितरण गर्दै आएका छन् । मासु पसलहरुमा मुल्य समेत एकरुपता नभएको पाईएको छ ।
अनुगमन टोलीले पहिलोपटक आवश्यक मापदण्ड पुरा गर्न, सरसफाई गर्न र उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन सुझाव दिएको छ । सुझावहरु कार्यान्वयन नभएमा अर्को अनुगमनका बेला पसल शिल गर्नेदेखि अन्य कानूनी कारवाही गर्ने चेतावनी समेत दिईएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
अनुगमनमा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक, विज्ञ, कुश्मा नगरपालिकाका पशु चिकित्सक, पर्यटन तथा उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, उद्योग बाणिज्य संघ, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
चाडवाड नजिकिएसँगै बजार अनुगमनलाई तीब्रता दिईएको छ । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयले खाद्यान्न विक्रि गर्ने पसलहरुको अनुगमन समेत गरेको थियो ।






