कालीगण्डकी नदिको तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै, आजदेखि अभियान शुरु  - News site from Nepal
पर्वत १३ असार : धार्मिक, सांस्कृतिक र शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्ने उद्धेश्यले तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम थालिएको छ ।
तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटदेखि मुक्तिनाथ मन्दिरसम्म रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने उद्धेश्यले शुक्रवारदेखि पाँच दिने कार्यक्रम थालिएको हो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पर्वत शाखा तथा पर्वत फोटोग्राफर संघको सहकार्यमा पर्वत उद्योग बाणिज्य संघले कार्यक्रम प्रचारात्मक कार्यक्रम थालेको हो ।
पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी धाममा शुक्रवार कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दैै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विश्वकै अलग्गै पहिचान रहेको कालीगण्डकी नदिको संरक्षण, प्रचार प्रसारका साथै तटिय क्षेत्रमा रहेका अलौकिक सम्पदाहरुको प्रवद्र्धनका लागि अभियान थालिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले यस क्षेत्रलाई मुख्य रुपमा प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम अघि बढाएको मन्त्री बस्यालले बताउनुभयो ।
बस्यालले देवघाटदेखि शुरु भएर उत्तरबाहिनी, गजेन्द्रमोक्षधाम, रुरुक्षेत्र, विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणी, मोदीवेणी, गलेश्वर धाम हुँदै मुक्तिनाथसम्मको धार्मिक गन्तब्य निर्माण गर्न लागिएको बताउनुभयो । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण सम्पदाहरु रहेपनि विश्व समुदायबीच प्रचार प्रसार हुन नसकेको बताउँदै मन्त्री बस्यालले यो कार्यक्रमपछि भारतीय मात्र नभएर विश्वका अन्य मुलुकका भक्तजनहरु समेत यस क्षेत्रमा आउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम उद्घाटन समारोहमा कालीगण्डकी, शालग्राम शिला, मोदीवेणीका साथै तटिय क्षेत्रका अन्य सम्पदाहरुको महिमाका बारेमा सहस्रधारा दिव्यधाम धार्मिक तथा पर्यटकीय स्थलका स्वामि नारायणाचार्य र गुप्तेश्वर बेद बेदाङ्ग पाठशालाका प्राचार्य रामु पौडेलले प्रवचन दिँदै कालीगण्डकीको जल, शालिग्राम शिलाको धार्मिक एवम् ऐतिहासिक महत्व विश्वका अन्य कुनै नदिको हुन नसक्ने दावी गर्नुभयो । कालीगण्डकी र शालग्राम शिलालाई विश्व समुदायबीच चिनाउन आवश्यक रहेको उहाँहरुको भनाई रहेको छ ।
कालीगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने उहाँहरुको भनाई छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ ।
कार्यक्रममा सम्वन्धित क्षेत्रका उद्योगी, व्यावसायि, सञ्चारकर्मी, सन्त, महन्त, पण्डित, स्वामी तथा गुरुहरुको सहभागिता रहनेछ । देवघाट, उत्तरबाहिनी, गजेन्द्रमोक्षधाम, रुरुक्षेत्र, सेतीवेणी, मोदीवेणी, गलेश्वरधाम र मुक्तिनाथ क्षेत्रमा हरेक दिन विशेष समारोह संचालन गरिने छ भने सम्वधित क्षेत्रका ज्ञाताहरुवाट प्रवचन दिने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमवाट सवै क्षेत्रको महिमा समेटिएको ब्रोसर प्रकाशन तथा वितरण र बृत्तचित्र निर्माण गरिनुका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माद्याममा समाचार, विचार, आलेख प्रकाशन गरिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता तथा स्वागत पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, धन्यबाद मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल जिसी र कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!