सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल - News site from Nepal
सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल

बागलुङ – बागलुङ र गुम्ली जिल्लालाई जोड्ने कुस्मीसेरा-बरेङ-शान्तिपुर सडकखण्ड अन्तर्गत रुम्टाखोला पुल निर्माण सम्झौता एक वर्ष बाँकी हुँदा नै पूरा भएको छ।

जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भैसकेको हो। सुर्योदय कन्ट्रक्सन कम्पनी प्रालि पर्वतले निर्माण गरेको पुल निर्माणको अधिकांश काम सकिएको र यो असार भित्रमा उक्त पुलबाट सवारी साधन सञ्चालन हुने पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्द प्रसाद चौधरीले बताए।

‘२०८१ साल वैशाख ११ गते पुल निर्माणको सम्झौता भई काम अगाडि बढेको हो,’ चौधरीले भने,‘काम गर्नका लागि अझै एक वर्ष नै बाँकी छ। पुलको काम भने धेरै जसो सकियो। यो बर्खामा सडक अवरुद्ध हुँदैन। पुलबाट सवारी सञ्चालन गर्ने वाताबरण बन्छ।’ कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विक्रम संवत २०६५ सालमा निर्माणस सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी नगरपालिका—९ पयैुँ र १० राङ्खानीसंगै सिंगो बरेङ गाउँपालिकाका नागरिकले बर्खामा सास्ती खेप्नुपर्थ्यो।

पुल नहुँदा बर्खाको समयमा यातायात ठप्प हुँदा जैमिनी ९ र १० नम्बर वडाका नागरिक पालिका मुकामसँगै विच्छेद भएर बस्नुपर्ने बाध्यता थियो। सडक निर्माण भएको १७ वर्षपछि उक्त स्थानमा पुल बनेपछि दक्षिणी बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता हुनेछ। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाएर उक्त पुल निर्माण गरेको हो। कुल ८ करोड एक लाख ५९ हजार ६ सय ८ रुपैयाँ लागत स्टीमेट रहेकोमा निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले ६ करोड ९ लाख ४६ हजार ३ सय ६७ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो।

इमानदारी पूर्वक काम गर्दा समयभन्दा अगाडि नै काम गर्न सकिने सूर्योदय कन्स्ट्रक्सन पर्वतका प्रतिनिधि राम बहादुर क्षेत्री बताउँछन्। ‘आफूले जिम्मा लिएको काम बेलैमा गरौं भनेर हामीले आफ्नो कामलाई अगाडि बढायौं,’ उनले भने, ‘कामदारहरूको सही परिचालन गर्न सकियो भने बेलैमा काम हुन्छ।’ स्काभेटर बिग्रेर केही काम रोकिए पनि असार भित्रै पुल सञ्चालनमा ल्याउने उनले जानकारी दिए।

‘पुलको काम सबैजसो सकिएको छ। केही दिनमा पुलको ढलान सेटल भएपछि पुल सञ्चालन हुन्छ,’ उनी भन्छन्, ‘मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम छ। त्यो कामका लागि भने अर्को आर्थिक वर्षसम्म जाने भो। हामी सबै काम गरेर सम्झौता अगावै पुल हस्तान्तरण गर्ने पक्षमा छौं।’ रुम्टाखोला पुलले जैमिनी नगरपालिकासंगै बरेङ गाउँपालिका र गुल्मीका हजारौ नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा बताउँछन्।

‘बागलुङ र गुल्मी दुई जिल्ला जोड्ने निकै महत्वपूर्ण सडकको रूपमा रहेको कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक निर्माण भएर पनि रुम्टाखोलामा पुल नहुँदा बर्खाको समयमा हजारौं नागरिक प्रभावित हुने अवस्था थियो,’ उनले भने, ‘यो पुलले धेरै सजिलो बनाउनेछ। वर्षौेंदेखिको नागरिकको सास्ती कम हुनेछ।’ पुल निर्माण भएपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुने उनको विश्वास छ।

‘हामीहरूको निरन्तरको प्रयास, पूर्वाधार कार्यालयको निगरानी र निर्माणा कम्पनीको इमानदार कामले गर्दा यो पुल तोकिएको समय भन्दा पहिले नै सञ्चालनमा आउने अवस्था बनेको छ,’ उनी भन्छन्, ‘पुल नहुँदा बर्खामा यातायात नै बिच्छेद भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ।’ पुल निर्माणसंगसंगै उक्त सडकखण्ड कालोपत्रेका लागि प्रयास भैरहेको उनले बताए।

‘यो सडक कालोपत्र भैसक्नुपर्ने सडक हो, निर्माण कम्पनीले समयमा काम नगरिदिंदा समस्या देखिएको छ,’ उनले भने, ‘यहाँको नागरिक समाज, राजनीतिक अगुवाहरूसंगै हामीले निरन्तर प्रयास गरिरहेका छौं। यो सडक कालोपत्र भएको खण्डमा यस क्षेत्रका लागि जीवनरेखा बन्छ।’ उक्त सडकका माथिल्लो खण्ड राङ्खानी-बरेङमा सडक कालोपत्र भैसके पनि तल्लो खण्ड कुस्मीसेरा-राङ्खानी खण्डमा सडक कालोपत्र अझै हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!