पर्वतमा शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धि अन्तरक्रिया सम्पन्न  - News site from Nepal
पर्वत– विद्यालय स्तरको शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धि माध्यमिक तहका प्रद्यानाध्यापकहरुका लागि जिल्ला स्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शिक्षा समन्वय ईकाई पर्वतको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा जिल्लाभरका ९० भन्दा बढि माध्यमिक विद्यालयका प्रद्यानाध्यापक, सातवटै स्थानीय तहका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, संघ संगठनका प्रमुख लगायत सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि  शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिलाउनुपर्नेमा जोड दिईएको छ । प्रारम्भिक तहदेखि मावि तहसम्म शिक्षा नियमावलीमा उल्लेख गरिएका अुनसारका विषय शिक्षक, विषयगत कक्षागत शिक्षक लगायत शिक्षकहरुलाई बढि जिम्मेवार र मनोबल उच्च राख्नका लागि तीनै तहका सरकार जिम्मेवार हुुनुपर्नेमा जोड दिईएको छ ।
क्तिपय अवस्थामा राजनीतिक हस्तक्षेपका कारण पनि शिक्षाको गुणस्तर सुधार हुन नसकेको प्रद्यानाध्यापकहरुको गुनासो रहेको छ । कार्यक्रममा आफ्‌नो प्रस्तुती राख्दै शिक्षा समन्वय ईकाई पर्वतका प्रमुख मतिलाल चपाईले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुको मनोबल उच्च राख्नुपर्ने, भुगोललाई हेरेर विद्यालय समायोजन गर्नुपर्ने, सवै तहका शिक्षकलाई पेशागत सहायता उपलब्ध गराउनुपर्ने, बाल कक्षा सहयोगी कार्यकर्तालाई सुविधा बृद्धि गर्नुपर्ने, नयाँ प्रविधिमैत्री कक्षा कोठा निर्माण गर्नुपर्ने बताउनुभयो । यसैगरी विद्यार्थी, अभिभावक र शिक्षक बीच बैठक, छलफल तथा अन्तरक्रिया गर्नुपर्ने, कक्षा पाँच देखिनै परिक्षा प्रणालीमा सुधार गर्नुपर्ने, दुर्गम क्षेत्रका बालबालिकाहरुलाई आवासीय सुविधा दिनुपर्ने, कक्षा कोठामा ४५ मिनेट सहज ढंगसँग शिक्षण क्रियाकलापमा सहजीकरण गर्न कठिन हुने शिक्षकहरुलाई स्वेच्छिक अवकास दिनुपर्ने पनि उहाँले बताउनुभयो । शिक्षा नियमावली अनुसार विद्यार्थी संख्याको आधारमा बढि दरवन्दी हुने विद्यालयवाट घटाउँदै जानुपर्ने, सिकाई चौतारीको प्रयोग विद्यार्थी माझ पुर्‍याउनुपर्ने, प्राथमिक तहमा पनि शिक्षक सरुवा गर्दा बिषयलाई ध्यान दिन सकेमा गुणस्तर अभिबृद्धि गर्न सकिने उहाँको भनाई छ ।
शैक्षिक गुणस्तरकै अभावमा दिन प्रतिदिन नेपाली युवाहरु बिदेश छिर्नुपर्ने अवस्था रहेकोले सिपयुक्त र स्वरोजगारमुलक शिक्षामा जोड दिनुपर्नेमा पनि सहभागिहरुले धारणा राखेका थिए ।
कार्यक्रममा सातवटै पालिकाको शैक्षिक अवस्था, सुधारका प्रयास र आगामी कार्ययोजनाका बारेमा शिक्षकहरुले प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, जिल्ला समन्वय अधिकारी किरण पौडेल, कुश्मा नगरपालिकाका नगर शिक्षा प्रमुख विष्णु तिवारी, मोदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश क्षेत्री, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल लगायत नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र शर्मा गौतम, शिक्षक संघका अध्यक्ष यज्ञप्रसाद बास्तोला,  संगठनका अध्यक्ष भागीरथ अधिकारी लगायतले ले पनि विभिन्न धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!