पर्वतको घट्दो जनसंख्या : नागरिकता र राहदानी लिने दुवै घटे - News site from Nepal
पर्वतको घट्दो जनसंख्या : नागरिकता र राहदानी लिने दुवै घटे

पर्वत-: पर्वतमा राहदानी र नागरिकता लिनेको संख्या घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा नागरिकता र राहदानी लिने दुवै संख्या घटेको पाईएको हो । आर्थिक वर्ष २०८१/०८२ मा पर्वतमा जम्मा दुई हजार नौ सय ७२ जनाले वंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा वंसजको आधारमा नागरिकता लिनेको संख्या तीन हजार एक सय ८७ रहेको थियो । गत वर्ष भन्दा यो वर्ष दुई सय पन्ध्र जना कमले नागरिकता बनाएका हुन् ।

राहदानी बनाउनेको संख्या समेत अघिल्लो वर्ष भन्दा उल्लेख्य मात्रामा घटेको पाईएको छ । पर्वतवाट आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार तीन सय ६ जनाले नागरिकता बनाएका छन् । तर अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा छ हजार सात सय ५५ जनाले राहदानी वनाएका थियो । गत वर्ष भन्दा एक हजार चार सय ४९ जना घटेका हुन् ।

दिन प्रतिनिधि युवाशक्तिको पलायनदर बद्दै जानु, घट्दो जन्मदर र बसाईसराईका कारण पनि नागरिकता र राहदानी बनाउनेको संख्या घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १९ जना गैरआवासीय नेपालीले नागरिकता लिएका छन् ।

त्यस्तै दुई जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् । त्यसैगरी गत आर्थिक वर्ष ६ हजार ८ सय ९१ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ भने ११ हजार सात सय ८० जनाको विवरण संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्रको उपयोगिता बढेसँगै दैनिकजसो फारम भर्न आउनेहरुको संख्या समेत बढ्दै गएको उहाँको भनाई छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

जिल्ला प्रशासन कार्यालयवाट आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका र अंगभंग भएका परिवारलाई रु.तीन लाख ९० हजार ९२ रुपैया क्षतिपुर्ति रुवरुप वितरण गरिएको छ । ६ जना पिडित मध्ये चार जनालाई वितरण गरिएको र दुई जनालाई वितरण गर्न बाँकी रहेको छ । यस्तै ९२ जना विपद पिडितलाई राहत वितरण गरिएको छ । संघीय सरकारवाट ४८ जनालाई रु. १२ लाख ४३ हजार र प्रदेश सरकारवाट ४४ जनालाई चार लाख ८१ हजार रुपैया राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो । त्यसैगरी सवारी दुर्घटनामा परेकालाई क्षतिपुर्ति स्वरुप रु. १० लाख वितरण गरेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु. तीन करोड ५ लाख, ५९ हजार आठ सय ७३ रुपैया राजश्व समेत संकलन गरेको छ । यसको ठुलो हिस्सा राहदानी वितरणबाट संकलन भएको हो । राहदानी वितरणवाट मात्र रु.दुई करोड ९३ लाख ४६ हजार पाँच सय रुपैया संकलन भउको छ । गत आर्थिक वर्षमा उक्त कार्यालयमा ३५ वटा संघ संस्था दर्ता भएका छन् भने ३०८ वटा नविकरण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!