पर्वत ११ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १७ औ गाउँ अधिवेशनले आगामी आर्थिक बर्षका लागि रु. ६१ करोड ४२ लाख ८० हजार बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले सार्वजनिक गर्नुभएको बजेटमा अनुदान, समपुरक अनुदान र विशेष अनुदान बाहेक रु. २७ करोड तीन लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
यस वर्षको बजेटवाट गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि क्षेत्रको रुपान्तरण, व्यावसायिकरण र यान्त्रिकिकरण, भौतीक पुर्वाधार र सामाजिक क्षेत्रको विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । यसैगरी उद्यमशिलाको विकास, रोजगारी प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाह, सुचना र प्रविधि मैत्री पालिका बनाउन जोड दिईएको छ ।
शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समावेशिता र सामाजिक समावेशीकरण, कृषि तर्फ उत्पादनमा आधारित अनुदान, एक वडा एक उत्पादन, बारीदेखि बजारसम्म कार्यक्रम जस्ता शिर्षकमा बजेट बिनीयोजन गरिएको छ ।
वडागत कार्यक्रम तथा योजनाका लागि एकमुष्ठ रु. ५ करोड ७० लाख बिनीयोजन गरिएको छ भने वन तथा वातावरण तर्फ रु. ४० लाख बिनीयोजन भएको छ । नागरिकलाई प्रत्यक्ष लाभ हुने र दिर्घकालीन योजनाहरुमा बजेटलाई प्राथमिकता दिएको उपाध्यक्ष लामिछानेले बताउनुभयो ।
यसअघि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले समृद्ध मोदी, सुखी मोदीवासीको नारालाई जोड दिनुभएको छ । नीति तथा कार्यक्रममा सुत्केरीसँग अध्यक्ष कार्यक्रम, एक गाउँ एक उत्पादन, एक सामुदायिक वन, एक पोखरी, स्मार्ट किसान, डिजिटल एग्रोटुरीजम कार्यक्रमको नीति लिईएको छ ।
त्यसैगरी लोपोन्मुख गोरु जोगाउन एक नमुना कृषि फार्म, एक हल गोरु कार्यक्रम संचालन गरिने भएको छ भने सामुदायिक बिद्यालयमा सिक्दै कमाउँदै कार्यक्रमलाई विस्तार गरिदै लगिने भएको छ । त्यस्तैगरी एक कार्यालय एक पुस्तकालय, युवासँग उपाध्यक्ष कार्यक्रम, र एक घर एक धारा कार्यापक्रमलाई पुर्णता दिईने भएको छ ।
इस वर्षदेखि मोदी गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । यसका लागि आगामी बर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ भने रु. पाँच लाख रुपैया बजेट समेत बिनीयोजन गरेको छ ।






