बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न - News site from Nepal

शिला पाण्डे /बार्सेलोना स्पेन

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा बेसोस मार युवा क्लब, स्पेनले “परिवर्तनको लागि मैत्रीपूर्ण खेल” भन्ने मूल नारासहित पहिलो पटक खुला पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ।

यस प्रतियोगिता स्पेनमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, एकता र सौहार्द कायम गर्ने र खेलकुदमार्फत नेपाली युवाहरूलाई सक्रिय बनाउन आयोजित गरिएको कार्यक्रम संयोजक लक्ष्मण सिङ्ले जानकारी दिनुभयो।

स्पेनका एनआरएन अध्यक्ष सन्तोष श्रेष्ठले प्रतियोगिताको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै खेल हाम्रो जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले, “यस्ता प्रतियोगिताले केवल खेलाडीको प्रतिभा मात्र उजागर गर्दैन, यसले नेपालीलाई नेपालीसँग नजिक ल्याउने र भावी पुस्तामा खेल संस्कृतिको विकास गर्ने काम गर्छ,” भन्दै समय समयमा यस्ता कार्यक्रम आयोजना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतियोगितामा आयोजक ए र बीसहित १० टिमको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा अन्तिममा म्याड्रिड टोलीले विजयी हुँदै प्रथम स्थान हात पार्‍यो भने बार्सिलोना टोली उपविजेता बन्यो। प्रथम पुरस्कार : १५०५ युरो
द्वितीय पुरस्कार : १००५ युरो प्राप्त गरेका छन्। यस ऐतिहासिक जितसँगै म्याड्रिडले स्पेनस्थित नेपाली भलिबल इतिहासमा नयाँ उपलब्धि कायम गरेको आयोजकहरूले बताएका छन्। प्रतियोगिता प्रमुख अतिथि पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन सत्र सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन गगन आलेले गर्नुभएको थियो।

यसै अवसरमा क्लबका सदस्य सायल लामिछानेले बेसोस मार युवा क्लब स्पेनद्वारा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताले स्पेनमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न स्पेनका सुरक्षाकर्मीहरूले विशेष साथ र सहयोग प्रदान गरेका थिए। सुरक्षा निकायको यस सहयोगले सम्पूर्ण खेलकुद गतिविधि सुरक्षित, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ। बेसोस मार युवा क्लब स्पेनले आयोजना गरेको भलिबल प्रतियोगिताले खेलकुदमार्फत समुदायलाई एकजुट गर्ने, उत्साह र उमङ्ग बाँड्ने तथा नेपाली संस्कृतिलाई परदेशमा समेत जीवित राख्ने महत्वपूर्ण कदम चालेको छ। यस्ता गतिविधिले आगामी दिनमा स्पेनमा रहेका नेपाली समुदायलाई अझ बलियो एकतामा बाँध्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!