जिल्ला प्रशासनद्धारा पर्वत उद्योग बाणिज्य संघको साधारणसभा गर्न रोक  - News site from Nepal
पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत उद्योग बाणिज्य  संघको ४२औ साधारण सभा तथा ४९औँ बार्षिकोत्सवको कार्यक्रम गर्न रोक लगाएको छ ।
आइतवार मध्यरातमा आदेश जारी गर्दै संघको बार्षिक साधारण सभा हाललाई स्थगित गर्न आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको आदेशपछि सोमवारका लागि तय गरिएको साधारण सभास्थगित गरिएको छ । के कारणले रोकिएको भन्ने बारेमा संघका अध्यक्ष, पदाधिकारी र सदस्यहरुनै बेखबर रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नेपाली काँग्रेसवाट साधारण सभा रोक्नका लागि चेतावनी आएपछि सुरक्षा निकायको वैठक बसेर तत्काललाई स्थगित गर्न आदेश गरिएको हो । प्रजिअ शर्माले संघको अधिवेशनका बेला तीन दलबीच सहमति गरेर नयाँ कार्यसमिति चयन भएको र सहमति कार्यान्वयन नभएको भन्दै शिर्ष दलवाट साधारणसभा रोक्न माग गरेपछि सुरक्षा चुनौती देखेर रोक लगाईएको हो । उक्त आदेशले २ महिनासम्म रोक लगाउने र यदि उक्त आदेश चित्त नबुझेमा सम्वन्धित संस्था अदालत जान सक्ने उहाँले बताउनुभयो । यदि सर्वसम्मत गरेर आएमा पुनः सुरक्षा निकायको बैठक बसी अर्को आदेश जारी गर्न सकिने प्रजिअ शर्माले बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष गोपि अधिकारीले साधारण सभा, बार्षिकोत्सव जस्ता कार्यक्रम संस्थाका नियमित आन्तरिक कार्यक्रम भएकाले प्रशासनले रोक लगाउन नहुने बताउनुभयो । उहाँले कुनै एक पक्षको भनाईका आधारमा संस्थामाथि हस्तक्षेप गर्नु राम्रो नभएको बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले संघका पदाधिकारी र कार्यसमितिसँग छलफल नगरिकने राती १० बजे कार्यक्रम रोक्न भन्नु गलत कार्य भएको बताउनुभयो । उहाँले यस्तो आदेश तत्काल फिर्ता लिएर संस्थाको नियमित साधारण सभ ागर्ने बातावरण बनाईदिन आग्रह गर्नुभयो । पर्वत उद्योग बाणिज्य संघमा कुनै समस्या नभएको र कुनै सुरक्षा चुनौती समेत नदेखिएको अवस्थामा प्रशासनको निरंकुश शैली, पञ्चायतकालीन हस्तक्षेपले सामाजिक संस्थाको गरिमामाथि आँच पुगेको  उहाँको भनाई छ ।प्रशासनको एकलौटी आदेशले जिल्लामा द्धन्द्ध बढाउने काम गरेको उहाँले बताउनुभयो ।
नेतृत्व चयनका बेला राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको थियो । काँग्रेसले उपाध्याक्ष, कोषाध्याक्ष सहित पाँच सदस्य पाउने भएपनि उक्त पार्टीमा आवद्ध व्यक्तिको टुंगो नलाग्दा उपाध्यक्ष र केहि सदस्यहरु मनोनित हुन सकेका छैनन । काँग्रेसवाट संघमा नेतृत्व गर्ने व्यवसायीको टुंगो लगाएर पठाउन नसक्दा मनोनीत हुन नसकेको र सोहि कारणले समस्या सिर्जना भएको बताईएको छ ।
संघले त्रिदिवसीय कार्यक्रम गरी साधारण सभा गर्न लागेको थियो । पहिलो दिन नेपाल पत्रकार महासंघ पर्वत र उद्योग बाणिज्य संघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि सिडीओ शर्मानै रहनुभएको थियो भने दोस्रो दिन गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा खाद्यान्न वितरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री तथा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी रहनुभएको थियो ।
केहि कार्यक्रम भैसकेपछि अन्तिममा आएर साधारण सभा रोक्नु उचित नभएको संघका सदस्य कृष्ण शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!