फलेवासमा बृहद तीज मेला- आज तीज गीत प्रतियोगिता र चर्चित कलाकारको घम्साघम्सी   - News site from Nepal
पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता, महिलाहरुबीच लठ्ठो तान्ने प्रतियोगिता, छेलो तथा एकल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहेका छन् । शुक्रवार विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ भने आज छेलो फाल्ने, रस्साकस्स्ी  र तीज गीत प्रतियोगिता संचालन हुने नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब सृजना बरालले जानकारी दिनुभयो ।
मेलाको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले महिलाहरुको हक अधिकार सुनिश्चित गर्नका लागि तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले फलेवास नगरपालिकाले महिलाहरुको क्षमता विकास, स्वरोजगार सिर्जना र महिलाहरुलाई शशक्तिकरण गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सिमीत श्रोत र साधनका बीच पनि नगरको विकासका लागि आफु निरन्तर खटिरहेको बताउँदै आगामी चालु आर्थिक वर्षमा नगर भित्रका विभिन्न सडक कालोपत्र गर्नका लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले भौतीक विकास सँगै मानविय विकासमा समेत नगरको नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख शोभा क्षेत्रीले पनि सम्वोधन गर्नुभएको थियो ।
दुई दिनसम्म संचालन हुने मेलामा कलाकारहरु सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सुरजकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेल लगायतले प्रस्तुति रहेको छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मला भुसाल र फलेवास भजन समुहका अध्यक्ष रमेश चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सृजना बराल, सुरक्षा लामिछाने र रामचन्द्र भुसालले गर्नुभएको थियो ।
आज संचालन हुने तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु. १५,०००, द्वितीयले रु. १०,०००, तृतीयले रु. ५,००० र सान्त्वना पुरस्कार स्वरूप रु. ३,००० प्राप्त गर्नेछन् । महिलाबीच रस्साकस्सी प्रतियोगितामा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,०००, तृतीयले रु. २,००० पाउनेछन्। विद्यालयस्तरीय एकल नृत्यमा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,००० र तृतीयले रु. २,००० पुरस्कार पाउनेछन् ।
फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना जेष्ठ आमालाई विशेष सम्मान गरिनेछ  । आयोजकले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेलामा उपस्थित भई तीजको उल्लासमा सहभागी हुन आव्हान समेत गरेको छ ।
शुक्रवार फलेवास भजन समुहले कार्यक्रममा सहभागि सम्पुर्णलाई निशुल्क रुपमा दर खुवाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!