पर्वत ६ मङ्सिर : निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क संचालनमा आएपनि यातायात व्यावसायीले अटेरी गरेपछि कुश्मा नगरपालिकाले तालाबन्दी गरेको छ ।
गत कात्तिक १४ गते शुक्रवारदेखि नियमित रुपमा बसपार्क संचालन गर्ने तयारी गरिएको भएपनि पर्वतवाट यातायात संचालन गर्दै आएका कम्पनीहरुले अटेरी गरेपछि कुश्मा नगरपालिकाले सवै टिकट काउण्टरमा ताला लगाईदिएको छ । बसपार्क संचालनमा आएको महिनादिन सम्म पनि यातायात कम्पनीहरुले काउण्टर नसारेपछि शुक्रवार बसपार्कमा काउण्टर सार्न दबाब स्वरुप ताला लगाईएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि ताला नै लगाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । नगरप्रमुख जोशीले राज्यले करोडौ लगानी गरेर निर्माण गरेको बसपार्क संचालन गर्न सवैले सहयोग गर्नुपर्नेमा उल्टै स्थानीय सरकारलाई अटेरी गरेपछि समस्या भएको हो ।
अब सवै कम्पनीले बसपार्कमै काउण्टर सारेर टिकट काट्ने, बसपार्कवाट यात्रु चढाउने र ओराल्ने काम शुरु नगरेसम्म चाबी नखोल्ने उहाँको चेतावनी छ । यातायात व्यावसायीका काउण्टरहरु स्थानान्तरण गर्ने बारेमा केहि शिवालयचोकवासीले अवरोध समेत गर्दै आएका थिए । साझा यातायातको काउण्टर नसार्दा अन्य यातायात कम्प्नीले समेत अटेरी गरेको अवस्थामा उक्त काउण्टर समेत सारिएको छ ।
काउण्टर स्थानान्तरण गर्न अटेरी गरेको भन्दै जनप्रतिनिधि, प्रहरी, यातायात ब्यावसायीहरु, बसपार्क संचालक र अन्य सरोकारवाला सहितको उपस्थितिमा तालाबन्दी गरिएको हो । नगरपालिका र यातायात ब्यावसायीबीच बसपार्कवाट छुट्ने सवै यातायात प्रालिका सवारी साधनहरु मध्ये ट्याक्सीको हकमा दुई/दुईवटा र अन्य सवारी साधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाईने, लामो दुरीमा आउजाउ गर्ने सवै सवारी साधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्गमो छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारी साधन बसपार्क भित्रै राख्नुपर्ने निर्णय भएपनि कार्यान्वयनमा नआएपछि समस्या परेपछि बसपार्क संचालनको जिम्मा पाएका दिपक पुनले नगरपालिकासँग सहयोग माग्नुभएको थियो ।
बसपार्क संचालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु. ११ लाख १९ हजार दुई सय ५२ रुपैयामा बोलपत्र आव्हान गरेको थियो । उक्त बोलपत्र युवा व्यावसायी दिपक फगामी पुनको नाममा स्वीकृत भएपछि संचालनको प्रकृया अघि बढेको थियो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङ्गले बसपार्क संचालनमा आएपछि अव्यवस्थित पार्किङ र सवारी दुर्घटनामा न्यूनिकरण हुने बताउनुभयो । रु.छ करोड ६६ लाख ३ हजार २ सय ५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यवसायिक प्रयोजनका लागि आधादर्जन संख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजार बाट दिनहुँ काठमाण्डौ, पोखरा, सुनौली, बिराटनगर, नेपालगंज, भैरहवा, काकडभित्ता लगायतका शहरमा सार्वजनिक सवारी साधनहरु छुटने गर्छन भने दैनिक हजारौको संख्यामा सवारी साधनहरु बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हँुदै जाने गर्दछन् । तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरु अहिलेसम्म असुरक्षित ढंगले सडकमै पार्किङ्ग गरिँदै आएको थियो ।






