पर्वत ६ भदौ : मापदण्ड विपरित वर्षायाममा पनि कालीगण्डकी नदिबाट नदीजन्य पदार्थको अबैध उत्खनन् र चोरी रोक्न पर्वतका जनप्रतिनिधिले माग गरेका छन् ।
कालीगण्डकी नदि किनारका विभिन्न घाटवाट दैनिकजसो भैरहको बालुवा, गिटी, ढुंगाको चोरी निकासी बन्द गर्न माग गर्दै सरोकार वाला निकायलाई ध्यानार्षण गराएका हुन् । फलेवास नगरपालिका वडा नंं. ४ मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारीले फलेवास नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायतका निकायसँग चोरीनिकासी तत्काल बन्द गर्न माग गर्नुभएको हो । नदिजन्य बस्तु व्यवस्थापन कार्यविधि २०७५ मा नदीजन्य निर्माण सामाग्री उत्खनन् सङ्कलन तथा घाटगद्दी गर्ने कार्य हरेक वर्षायामको आषाढ देखि भाद्र महिनाको मसान्तसम्म गर्न नपाईने उल्लेख गरिएको भएपनि दिनरात उत्खनन् नरोकिएको र यसमा सरोकारवाला निकायकै वेवास्ता देखिएको वडा अध्यक्ष तिवारीले बताउनुभयो ।
पछिल्लो समय फलेवास नगरपालिका वडा नं.४ को कटुवा बगरमा दैनिकजसो उत्खनन् र चोरी निकासी बढेको भन्दै तिवारीले तत्काल नियन्त्रण गर्न र चोरी निकासीमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
यतिवेला पर्वत जिल्ला प्रवेश गर्ने वित्तिकै मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, दोविल्ला–फलेवास सडक, मालढुंगा–बेनी सडक आसपास बालुवाका ठुला ठुला पहाड ठडिएका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा कालीगण्डकीको अबैध उत्खनन् बढेको सर्वत्र चर्चा भएपनि नियन्त्रणमा चासो नदेखिएको वडा अध्यक्ष तिवारीको भनाई छ ।
दिउँसो भन्दा रातीको समयमा उत्खनन् बढी हुने गरेको छ । उत्खनन् गरीएको बालुवा रातमै पोखरा, स्याङ्जा, तनहुँतर्फ लैजान गरेको स्थानीयवासीले बताएका छन् । अन्यत्र भन्दा कालीगण्डकीको बालुवा गुणस्तरीय हुने भएकाले धेरै माग रहेको छ । वर्षायाममा उत्खनन् गर्ने, पालिकालाई थोरै जरिबाना बुझाउने र हिउँदयामभरी गिटी बालुवाको व्यापार गरेर अबैध आम्दानी गर्नेहरु चोरी निकासीमा सक्रिय बनेको जलजला गाउँपालिका वडा नं. ८ फर्सेका हरेमबहादुर खत्रीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले नदिजन्य बस्तुको उपयोगबारे कानून नवनिसकेको तर कार्यविधि तयार भैसकेको अवस्थामा चोरी निकासी र उत्खनन् रोक्नका लागि आफुहरुले निरन्तर प्रयास गरेको दावी गर्नुभयो । उहाँले सवै निकायको सहकार्यमा चोरी निकासी नियन्त्रण गर्न लाग्ने प्रतिवद्धता जनाउनुभयो । वडा अध्यक्ष तिवारीले प्रहरी नायब उपरिक्षक रविन विष्टले आफुले बुझाउन लगेको ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गरेको बताउनुभयो ।
गत साता जिल्ला समन्वय समिति पर्वतको अगुवाईमा गरिएको अनुगमनका क्रममा झण्डै २० हजार घनमिटर बालुवा र उत्खनन्मा प्रयोग उपकरण जफत गरिएको थियो ।






