
पर्वत– नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले) कुश्मा नगर कमिटीले ५४ जना अग्रजहरुलाई सम्मान गरेको छ ।
पञ्चायती निरंकुशताको बिरुद्ध पार्टीले भूमिगत आन्दोलन संचालन गरिरहेको अवस्थामा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सांगठनिक जिम्मेवारी पुरा गरेका तथा सेल्टरदाताको रुपमा रहेका कुश्मा नगरपालिका भित्रका ५४ जना अग्रजहरुलाई सम्मान गरिएको थियो ।
अग्रज सम्मान कार्यक्रमलाई नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले नेपालमा नेकपा एमाले मात्र त्यस्तो पार्टी हो, जसले अग्रजको कामलाई सम्मान र युवाहरुलाई प्रोत्साहन गर्दै आएको छ । पार्टीलाई आश्यकता गर्दा योगदान गर्नेहरुको सम्मान उचित समयमा हुन्छ भन्ने सन्देश आजको कार्यक्रमले दिएको शर्माले बताएका थिए । नेकपा एमाले लोकप्रिय पार्टी भएकै कारण चौतर्फी घेराबन्दी गरेर आक्रमण भएको उनले बताएका थिए । पार्टीमाथि भएको चौतर्फी घेराबन्दीलाई तोड्दै अगाडि बढ्न पार्टी पूर्ण रुपमा एकढिक्क भएर अगाडि बढ्नु पर्ने कुरामा शर्माले जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिष्द सदस्य मेघनाथ सुवेदी, केन्द्रीय सल्लाहकार परिषद सदस्य तोयनाथ चालिसे, नेकपा एमाले जिल्ला कमिटी, पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेम पौडेल, सम्मानित हुनेहरुको तर्फबाट नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कमला पन्त, नेकपा एमाले फलेवास नगर कमिटीका अध्यक्ष देवि प्रसाद तिमिल्सिना लगायतले बोलका थिए ।
कार्यक्रमको संचालन नेकपा एमाले कुश्मा नगर कमिटी सचिव जित बहादुर विश्वकर्माले, स्वागत मन्तव्य उपाध्यक्ष गणेश पौडेल गरेका थिए भने अध्यक्ष कुश्मा नगर कमिटीका अध्यक्ष किशोर सापकोटाले गरेका थिए ।