
पर्वत, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले स्थापनाको ७६ औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
सोही क्रममा नेकपा एमाले पर्वतले तत्कालीन नेकपा माले पर्वतका संस्थापक नेताहरुलाई सम्मान गरेको छ । वि.सं. २०३६ सालमा पर्वतमा नेकपा मालेको संगठन निर्माण गर्ने पाँच नेताहरुलाई मंगलवार एक समारोहबीच सम्मान तथा अभिनन्दन गरिएको हो ।
जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा स्थित गौरीकान्त पाध्याको घरमा वि.सं. २०३६ साल असोजमा नेकपा माले पर्वत गठन भएको थियो । तत्कालीन समयका संस्थापक गणेश शर्मा पौडेल, तोयानाथ चालिसे, कृष्णप्रसाद भट्टराई, बिष्णुप्रसाद भट्टराई र स्वर्गिय बाबुराम पौडेललाई दोसल्ला, सम्मान पत्र र माला ओढाएर सम्मान गरिएको हो ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पुर्व मुख्य मन्त्री खगराज अधिकारीले अग्रज नेताहरुलाई सम्मान गर्नुभएको थियो । नेताहरुलाई सम्मान गर्दै अधिकारीले पाका पुस्ताको बलिदान, संघर्ष र योगदानका कारण आज नेकपा एमाले मुलुककै लोकप्रिय पार्टी बनेको बताउनुभयो । उहाँले नेकपा एमाले पर्वतले इतिहासलाई उजागर गर्नका लागि नमुना काम गरेको समेत बताउनुभयो ।
पञ्चायतकालीन अवस्थामा आफ्नो घरमा आश्रय दिएर स्थानीय स्वर्गिय गौरीकान्त पाध्याले नेकपा माले गठन गर्न योगदान गर्नुभएको भन्दै उहाँकै घरमा पुगेर संस्थापकको सम्मान गरिएको हो । सो अवसरमा संस्थापक नेताहरुले तत्कालीन अवस्था र अहिलेको अवस्थाका बारेमा बिचारहरु व्यक्त गर्नुभएको थियो ।
तत्कालीन प्रहरी, प्रशासनको धरपकड, जेल, नेल, यातना लगायतका संघर्षहरुवाट बचेर पार्टी स्थापनामा सक्रिय भएर लागेकै कारण आज मुलुकको ठुलो दल बन्न सकेको भन्दै अझैपनिनागरिकका इच्छा र चाहना पुरा नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । उनिहरुले नेकपा एमालेलाई अझै बलियो पार्टी बनाउनका लागि नेता कार्यकर्ता एकजुट भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा तत्कालीन नेकपा माले पर्वतका संस्थापक गणेश शर्मा पौडेल, तोयानाथ चालिसे, कृष्णप्रसाद भट्टराई, बिष्णुप्रसाद भट्टराई, स्वर्गिय बाबुराम पौडेलका सुपुत्र जनकराज पौडेल, स्वर्गिय गौरीकान्त पाध्याका छोरा तेजेन्द्र पौडेल, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्मा, फलेवास नगर किमिटि अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बिमल लामिछाने र संचालन सचिब सुवासचन्द्र पौडेलले गर्नुभएको थियो ।