पर्वत– पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा घनश्याम गौतमले बुधवारदेखि कार्यभार सम्हाल्नुभएको छ ।
बागलुङको गलकोट नगरपालिकावाट सरुवा भई आउनुभएका गौतमलाई बुधवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले स्वागत गरेका थिए ।
यस अघिका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलको मन्त्रालयमा सरुवा भएपछि गौतम दोस्रोपटक कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएको हो । गौतमलाई स्वागत गर्दैै नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाको समग्र विकासका लागि सवै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकिय अधिकृत गौतमले आफुले कुश्माको भुगोल र यहाँका सवै पक्षका बारेमा जानकार रहेको बताउँदै सवै निकायसँग आवश्यक समन्वय, सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफुमात्र सवैथोक नभएको बताउँदै जनप्रतिनिधि र नगरका सवै तहका कर्मचारीहरुको उत्तिकै साथ र सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नंं ७ राम्जादेउराली निवासी गौतम यस अघि नगरपालिका र त्यस अघि जिल्ला प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतको रुपमा काम गर्नुभएको थियो ।






