पर्वत ७ असार : सुरक्षित आप्रवासन (सामी कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम शनिवार कुश्मामा सम्पन्न भएको छ ।
कुश्मा नगरपालिकाद्धारा आयोजित कार्यक्रममा बैदेशिक रोजगारीमा जानेहरुको वर्तमान अवस्था, जानुपुर्व र गैसकेपछिको अवधिमा सामी कार्यक्रमले पारेको प्रभाव लगायतका बारेमा छलफल गरिएको छ ।
चालु आर्थिक वर्षको हालसम्म पर्वत घर भएका ५ हजार ८ सय ७२ जनाले एक बर्षको अवधिमा औपचारिक रुपमा श्रम स्विकृति लिएका छन् । चालु आर्थिक बर्ष २०८१/८२ मा लिएको यो संख्या बर्षनी बढेर गएको छ । श्रम बजारको खोजीका लागि विदेशीने नेपालीहरुले औपचारिक रुपमा श्रम विभागबाट लिएको संख्या बाहेक पनि विदेशीनेको ठूलो संख्या छ । श्रम स्विकृति बेगर भिजिट भिषामा र शिक्षण भिषामा जानेको संख्या सरकारी तथ्यांकमा नरहेको सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक उमा पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सामी कार्यक्रम संचालनपछि आवश्यक परामर्श, सुझाव सल्लाह र बैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुलाई सहजीकरण गर्ने गरिएको छ ।
चालु आर्थिक बर्षमा मात्रै थप १० हजार ६ सय १५ जनाले राहदानी निकालेका छन् । यी मध्ये ८ हजार ४ सय ४ जना श्रमबजारको खोजीमा विदेशीने मनस्थितीमा रहेको पाईएको छ ।
सुरक्षित आप्रबासन कार्यक्रम पर्वतका कुश्मा, मोदी र पैयू गाउँपालिकामा सञ्चालन भईरहेको छ । भने आगामी आर्थिक वर्षदेखि सातवटै पालिकामा संचालन हुने सामी कार्यक्रमका पर्वत संयोजक कुलचन्द्र रेग्मीले जानकारी दिनुभयो । कार्यक्रमले सुरक्षित आप्रवास सम्बन्धि कामहरु गरीरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा विदेशीने मध्ये ८ जनाको विदेशमा नै मृत्यु भएको छ ।
श्रम स्विकृति लिएर विदेश जाने बाहेको तथ्यांक सरकारसंग नरहने हुँदा बार्षिक रुपमा ७ हजार बढि पर्वतबासीहरुले देश छोडिरहेको तथ्यांक रहेको अनुमान रहेको उहाँको भनाई छ । २०६६ सालदेखि हालसम्म एक सय ४२ जनाले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । ३७ जना अंंगभंग बिरामी भएको तथ्यांकले देखाएको छ ।
अहिले नेपालवाट विश्वका एक सय ८ मुलुकमा रोजगारीका लागि नेपालीहरु जाने गरेको पाईएको छ ।
अन्तरिक्रिया कार्यक्रमको उद्घाटन उपप्रमुख स्वस्थानीय रिजालले गर्नुभएको थियो भने सामी कार्यक्रमका बारेमा संयोजक उम पौडेल, पर्वत संयोजक कुलचन्द्र रेग्मी र बैदेशिक रोजगारका सवालमा नितिगत समाचार सम्प्रेषण, गोपनियता, र आचारसंहिताका बारेमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।






