समयको पदचापलाई पछ्याउन नसक्ने हो भने आजको युवा पनि वृद्ध वा सो सरह हुन्छ तर समयलाई चिन्न र पछ्याउन सक्ने हो भने उमेरले पाको मानिस पनि युवा वा सो सरह बन्न सक्छ ।
समयको माग र समय समयमा घट्ने घटना र परिवेशले राजनीतिमा विभिन्न उथलपुथलहरु आइरहेका हुन्छन् । समय समयमा हुने आन्दोलन र विद्रोह लगायतका घटनाक्रमले राजनीतिमा अनेक फेरवदल ल्याइरहेको हुन्छ र नेता जन्माइरहेको हुन्छ ।
राजनीतिमा पाइला राख्ने सबै मानिसहरुले अरुले भन्दा भिन्न र नयाँ केही गर्ने हुटहुटी बोकेर आइरहेका हुन्छन् तथापि उनीहरुको सोंच, कार्यक्षमता र इमान्दारिताले को, कति अब्बल सावित हुन्छन् र टिक्छन् भन्ने कुरा विस्तारै समयक्रमले निर्धारण गर्ने गर्दछ ।
यिनै इमान्दारिताको कसीमा खारिएको समयसापेक्ष निर्णय क्षता भएको, अनुभव, ज्ञान र साहसको त्रिवेणी हो केपी शर्मा ओली । आज पनि हामी राष्ट्रप्रेमी निडर र स्वाभिमानी नेताको रुपमा केपी शर्मा ओलीलाई हेर्न र बुझ्न सकिन्छ ।
भारतीय पक्षको दादागिरीका सामु आँखामा आँखा जुधाएर सतिसाल झैं उभिन सक्ने नेताको पहिचान बनाइसक्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको बेलामा लिएको अडान र आत्मविश्वाका कारण आज पनि विश्वका सामु उहाँको अलग पहिचान बनिरहेको छ र आम नेपालीले हृदयमा सच्चा राष्ट्रवादी नेताको रुपमा बस्न सफल हुनु भएको छ ।
पटक पटक भारतीय पक्षबाट हुने हेपाहा प्रवृत्तिलाई डटेर सामना गर्दै ‘देश भूगोलले सानो ठूलो हुन्छ तर सार्वमौमिकताका दृष्टीकोणले समान हुन्छ’ भन्दै लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर संसदबाटै चुच्चे नक्सा पास गराउने नेताको रुपमा केपी ओलीको नाम आज विश्वले चिन्ने गर्दछ ।
उहाँले सपना नदेख्ने हो भने परिवर्तन गर्न पनि सकिँदैन । कुनै पनि लक्ष्यमा पुग्न पहिला सपना देख्न पर्छ भन्ने मनसायका साथ सबैलाई विकास र समृद्धिको सकारात्मक हुटहुटी जगाइदिनुभयो । देशभित्र विकासका अवसरहरु खोज्ने, स्वदेशमा रहेका विभिन्न प्राकृतिक भण्डारणहरु पहिचान गर्ने, उत्खनन् गर्ने तथा रेल र सुरुङ मार्ग लगायत समृद्धिका सपना देख्ने, देखाउने कुराको अगुवाई गरिरहनु भयो । समृद्धिमा पुग्न सपना देख्नैपर्छ, तर सपना सबैले देख्दैनन्, सपना त्यसले देख्छ, जसमा त्यो सपनालाई सार्थक बनाउने आँट, हिम्मत र हुटहुटी हुन्छ ।
भारतीय नाकाबन्दीको तत्कालीन समयमा “दैलेखमा ग्याँस हुन सक्छ, अन्वेषण गरौँ भनेर आवाज उठाउने व्यक्ति हुनुहुन्थ्यो तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली । तर के भयो ? धेरैले त्यसलाई “हावा गफ” भनेर व्यङ्ग्य गरे, अपमान गरे, आलोचना गरे । किनभने त्यो सपना धेरैका लागि अकल्पनीय थियो सोचको सीमा बाहिरको कुरा । तर जब हृदयमा राष्ट्रप्रेम हुन्छ, छातीमा साहस हुन्छ, त्यस्तो सपना हावामा उड्दैन, जमिनमा गाडिन्छ । केपी शर्मा ओलीज्यूले आलोचनाको पहाड चिर्दै त्यो सपनालाई साकार बनाउने यात्रामा पाइला चाल्नुभयो र आज देशको माटोमुनी ग्याँस छ भन्ने पुष्टी भइसकेको छ ।
अब त उल्टै आलोचकहरू ‘पत्ता त लाग्यो, तर उत्खननको के ?’ भनेर मसिनो त्यान्द्रो बोकेर विरोध गर्न तम्सिएका छन् । यस्ता ववुराहरूलाई जवाफ दिइरहनु आवश्यक छैन ।
अब दृढ इच्छाशक्ति सहित कार्य थालनी भइसकेको छ । त्यो उत्खनन् हुन्छ, कुरामा मात्र होइन, कार्यान्वयनमा पनि पुग्छ । किनभने त्यसमा राष्ट्रका लागि केही गरौँ भन्ने गहिरो भावना र अटल संकल्प छ । त्यसका लागि समय लाग्छ, लगानी लाग्छ, अनि चाहिन्छ स्थिर, दृढ र राष्ट्रवादी नेतृत्व । त्यो नेतृत्व केपी ओलीजस्ता दूरदर्शी नेताबाट मात्र सम्भव छ ।
आज गाली गर्नेहरू, भोली ओलीकै गुणगान गाउनेछन् ।
समय नै साँक्षी बन्नेछ । किनभने इतिहास कठोर भए पनि सधैं सत्य बोल्छ । यो देश बनाउने सपना, त्यो सपना देख्ने आँट, र आँटलाई परिणाममा रूपान्तरण गर्ने दम केपी ओलीसँग छ । राष्ट्रको समग्र विकासका लागि हामी सबै नागरिक सकारात्मक बनौँ ।
आग्रह–पूर्वाग्रह सबै त्यागौँ । सचेत र सकारात्मक नागरिक नभएसम्म नत हिजो विकशित बने नत भोलि बन्न सक्छन् ?हामी पनि विकास गर्न सक्छौ ।
(सुवेदी नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ ।)