खेलकुद विकास समिति पर्वतका पदाधिकारीको पदस्थापन - News site from Nepal
खेलकुद विकास समिति पर्वतका पदाधिकारीको पदस्थापन

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । हालै गण्डकी प्रदेशको खेलकुद विकास परिषदबाट मनोनित अध्यक्ष जंगबहादुर पुन बुद्ध, उपाध्यक्ष राजन गुरुङ, सचिब सपना पुर्जा र कोषाध्यक्ष जगत लामिछाने आइतवार बिहान खेलकुद विकास समितिको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । उहाँहरुलाई समितिका सदस्य सचिब जगदिश कुँवरले पदस्थापन गराउनुभएको हो ।


पदभार पछि पदाधिकारी सहित सरोकारवालाको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । पर्वत जिल्लावाट राष्ट्रितरको खेलहरुमा सहभागि खेलाडीहरुलाई सम्मान गर्ने, विभिन्न खेलकुद संघ संगठनका अध्यक्षहरुसँग समन्वयात्मक बैठक बस्ने, खेलकुद विकास समितिको कार्यालय र खेलमैदान निर्माणका लागि विभिन्न निकायसँग बजेट माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी जिल्ला खेलकुद विकास समितिको नाममा रहेको खेल मैदान तथा अन्य जग्गाहरुको खोजी गर्ने र व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै अध्यक्ष पुनले खेलकुद विकास समिति पर्वतलाई संस्थागत र खेलकुद गतिविधिमार्फत अब्बल बनाउनका लागि निरन्तर सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले पहिलो चरणमा समितिको कार्यालयलाई व्यवस्थित गरिने र आफ्‌नै भवन निर्माणका लागि तीनै तहका सरकारसँग बजेट माग गर्ने बताउनुभयो ।
खेल क्षेत्रमा देखिएका बिकृति विसंगतिलाई हटाउँदै खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्ने प्रेरणा प्रदान गर्नका लागि अग्रज खेलाडीलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्दै लगिने बताउनुभयो । उहाँले जिल्लास्थित सवै निकायसँगको समन्वय र सहकार्यमा समितिका गतिविधि अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!