
पर्वत– नेकपा एकीकृत समाजवादी पर्वतका उपाध्यक्ष गणेश पौडेलले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टीका गतिविधि र राजनीतिक दलहरुमा आएको बिचलनका कारण पार्टीका सम्पुर्ण जिम्मेवारी त्याग गरी स्वतन्त्र रहेको उल्लेख गर्नुभएको छ । पौडेल नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनको गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएको थियो । पार्टी र संगठन दुवैको पद त्याग गरेको उहाँको भनाई छ ।
पौडेलले शनिवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ ‘आजैका दिनदेखि कुनैपनि राजनीतिक दल र भातृ संगठनवाट अलग भएको छु, स्वतन्त्र स्पमा गुण र दोषको आधारमा समर्थन र विरोध रहन्छ, स्वतन्त्र रुपमा व्यावसायिक पत्रकारिता मार्फत समाज रुपान्तरण र लोकतन्त्र प्रति प्रतिवद्ध छु’ ।
पौडेलले गत असार ५ गतेनै पार्टीका जिम्मेवारीवाट अलग रहनेगरी राजिनामा बुझाएको भएपनि पार्टीले स्वीकृत नगरेको र पटक पटक जिम्मेवारीमा फर्कन आग्रह गरेपनि अस्वीकार गर्दै आएको बताउनुभएको छ । पार्टीको केहि दिन अघि बसेको बैठकमा समेत उहाँलाई अध्यक्षको जिम्मेवारी लिन दबाब आएको थियो । तर आफुले अस्वीकार गरेको पौडेलले बताउनुभयो ।
उहाँले अबको जीवन स्वतन्त्र रुपमा व्यावसायिक पत्रकारितामा रहने पनि घोषणा गर्नुभएको छ । नेकपा एमालेवाट राजनीतिक करिअर बनाउनुभएका पौडेल नेकपा एमालेको विभाजनसँगै नेकपा एकीकृत समाजवादीतर्फ लाग्नुभएको थियो । नेकपा एकीकृत समाजवादी परित्याग गरेसँगै पुरानै एमालेमा फर्किने हो कि भन्ने प्रश्नमा पौडेलले अहिलेलाई स्वतन्त्रनै रहने विचारमा छु । परिस्थिति अनुसार अर्को निर्णय लिन सकिन्छ ।