साढे दुई सय युवालाई एकैपटक सीपमुलक तालिम दिँदै कुश्मा नगरपालिका - News site from Nepal

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिने भएको हो । नगरपालिकाले पहिलो पटक सूचना प्रकाशित गर्दै इच्छुक युवाहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । तालिमका लागि कुल तीन सय जना सहभागी छनोट गरिनेछ । तालिमहरू कुश्मा नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिनेछन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार जुनियर ब्युटिसियन तालिम युनिभर्सल टेक्निकल ट्रेनिङ एकेडेमी प्रा.लि.ले सञ्चालन गर्दै छ । कुल ४० जनाका लागि हुने यो तालिम १५ घण्टाको उद्यमशिलता विकास तालिम सहित कुल एक सय ८० घण्टाको हुने छ । कुश्मा नगरपालिका–८ चुवा र कुश्मा नगरपालिका–११ पकुवा गरी दुई ठाउँमा सञ्चालन हुने तालिममा २०÷२० जना सहभागीहरु राखिने छ । प्लम्बर हेल्पर तालिम सिमेका ह्युमन रिसोर्स एकेडेमी प्रा.लि. सञ्चालन गर्ने तालिममा ४० जनालाई सहभागी गराईँदै छ । १५ घण्टाको उद्यमशिलता विकास तालिम सहित कुल एक सय ६१ घण्टा सञ्चालन हुने तालिम कुश्मा नगरपालिका–१० पिपलटारी र कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा चल्ने छ ।
यस्तै ४० जनाका लागि हिचन हेल्पर तालिम वर्ड लिङ्क टेक्नीकल ट्रेनिङ इन्स्छिच्युट प्रा.लि.ले सञ्चालन गर्दै छ । कुल एक सय ६० घण्टा अवधिको तालिम कुश्मा नगरपालिका–१४ आर्थर र कुश्मा नगरपालिका–८ चुवामा सञ्चालन हुने छ । यस्तै कान्तिपुर बहु प्राबिधिक शिक्षालयले ४० जनाको लागि गर्मेन्ट मसिन अपरेटर तालिम सञ्चालन गर्ने भएको छ । उद्यमशिलता विकासतर्फको १५ घण्टा सहित कुल एक सय ६७ घण्टाको तालिम हुने भएको हो । यो तालिम कुश्मा नगरपालिका–१ पाङ र कुश्मा नगरपालिका–१० पिपलटारीमा चलाउने तयारी छ ।
प्रशासकीय अधिकृत पौडेलका अनुसार मञ्जुश्री टेक्निकल ट्रेनिङइन्स्टिच्युटले स्टिल फिक्सर तालिम कुश्मा नगरपालिका ४, ५, ६ र ७ तथा कुश्मा नगरपालिका–२ खुर्कोटमा सञ्चालन गर्दै छ । कुल एक सय ६१ घण्टाको यो तालिममा पनि ४० जना सहभागी हुन पाउने छ । यस्तै जिनियम मल्टी टेक्नीकल इन्स्च्यिुटले ४० जनाका लागि किचन हेल्पर तालिम चलाउने जिम्मा पाएको छ । एक सय ६० घण्टा अवधिको यो तालिम कुश्मा नगरपालिका–३ दुर्लुङ तथा कुश्मा नगरपालिका ४, ५, ६ र ७ मा सञ्चालन हुने छ ।
यी सबै तालिमहरुमा सहभागी हुनको लागि १८ बर्ष पूरा भई ३५ बर्ष पूरा नभएको कुश्मा नगरवासी हुनुपर्ने छ । तर स्टिल फिक्सरका लागि भने उमेर हद ४५ बर्ष राखिएको छ । निशुल्क रुपमा सञ्चालन हुने तालिममा सहभागी हुन सम्बन्धित वडामा वा रोजगार सेवा केन्द्रमा आवेदन दिन सकिने छ । तालिममा महिला, दलित, जनजाति, अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!