
पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले पर्वत लगायत ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।
जस अनुसार पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । भने पर्वतमा हरिप्रसाद घिमिरे सरुवा भएर आउनुहुने भएको छ । उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई पर्वत सरुवा गरिएको हो ।
पर्वतमा गत जेठ ६ गते हाजिर भएका शर्माको दश महिनामै मन्त्रालयमा सरुवा भएको हो ।
यसैगरी बागलुङको प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ खटाइएको छ । यसअघि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव रहेका गुरुङको हालैमात्र गृह मन्त्रालयमा सरुवा भएको थियो । बागलुङका नेत्रप्रसाद सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ ।