
पर्वत– ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह समिति पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले प्रजातन्त्र स्थापनापछि मुलुकमा देखिएका र भएका परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । २००७ सालमा प्रजातन्त्र आएपछि नेपालमा थुप्रै खालका परिवर्तन भएका छन् ।
प्रजातन्त्रको प्राप्तिसँगै लोकतन्त्र, मानवअधिकार र सुशासन कायम गर्नका लागि थुप्रै क्रान्तिहरु भएको भन्दै यिनिहरुलाई संस्थागत गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बक्ताहरुको भनाई छ । कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जतिसुकै परिवर्तन आएपनि नागरिकमा उत्साह जाग्न नसकेको बताउनुभयो । उहाँले राजनीतिक दल र अहिलेको व्यवस्थाप्रति नागरिकहरु सन्तुष्ट नरहेको बताउँदै व्यवस्था परिवर्तनका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रुहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेल, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी किरण पौडेलले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारीबर्ग लगायतको सहभागिता रहेको थियो ।
प्रजातन्त्र दिवसकै अवसर पारेर प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतको आयोजना र प्रदेश अस्पताल पर्वतको सहकार्यमा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान समेत संचालन गरिएको छ । अभियान अन्तर्गत सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल तथा पत्रकारहरुको नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।