पर्वतको चुवामा स्वास्थ्य चौकीको भवन निर्माण शुरु - News site from Nepal
पर्वतको चुवामा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

पर्वत- पुरानो भवन जिर्ण हुँदा नियमित चेकजाँच र उपचारमा समस्या भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा चार कोठे स्वास्थ्य चौकीको भवन निर्माणको कार्य प्रारम्भ भएको छ ।

३८ लाख ८६ हजार लागतमा निर्माण हुन लागेको भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै जोशीले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने प्रयास भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीयवासीहरुले सहज रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । गाउँगाउँमा स्वास्थ्य सेवाको सहज पहुँच हुनेछ ।’

काँग्रेस नेता समेत रहेका जोशीले स्वास्थ्य मन्त्रीहरुले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गदै अबको दुईबर्ष भित्र स्वास्थ्यमा आमुल परिवर्तन हुने दाबी गर्नुभयो । उहाँले चुवाको विकासमा सवै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘विकास निर्माणमा कुनै पार्टी हुँदैन, सवैको भावना र चाहानालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ,’ जोशीले भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले स्वास्थ्य चौकी निर्माण पछि आवश्यक उपकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिका क्षेत्र भित्र स्वास्थ्य संस्थाहरूको सुदृढीकरण तथा गुणस्तरीय स्वास्थ्यका लागि नगरपालिकाले समन्वय गर्ने बताउनु भयो । सडक, शिक्षा लगायत अन्य पूर्वाधार निर्माणमा जस्तै स्वास्थ्यको पूर्वाधार निर्माणमा पनि सहयोग र समन्वय रहने बताउनु भयो ।

वडा अध्यक्ष सुरेन्द्र केसीले स्वास्थ्य चौकीको भवन पुरानो र जीर्ण भवन भएकाले सेवा सञ्चालन भईरहेकाले स्वास्थ्य चौकीको भवन निर्माण गर्न लागेको बताउनु भयो । भवन निर्माणका लागि चालु आर्थिक बर्षमा ३८ लाख ८६ हजार रुपैयाँ निनियोजन भएको जानकारी दिए । उक्त बजेटबाट करिब एक तलाको काम सकिने र बाँकी भवन निर्माणको लागि संघीय सरकारसँग पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रीय सभापति एवम् चुवाका निवर्तमान वडा अध्यक्ष राजकुमार क्षेत्री र प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन चुवा स्वास्थ्य चौकीका प्रमुख गोपाल आचार्य गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!