पर्वत, ३१ असोज : गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट बनेको छ ।
गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ को कार्यसम्पादन मुल्यांकनमा सवैभन्दा बढि अंक प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पुर्णांकको नतिजामा पर्वत प्रशासनले ९५ दशमलब ७१ अंक प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ल अधिकारी हरिप्रसाद घिमीरेले जानकारी दिनुभयो । उहाँको अनुुसार आर्थिक वर्ष वि.सं. २०८१/०८२को पहिलो त्रैमासिकमा २९ दशमलब ०६, दोस्रो त्रैमासिकमा १९ दशमलब २५, तेस्रो त्रैमासिकमा १७ दशमलब ८७ र चौथो त्रैमासिकमा २९ दशमलब ५२ अंक प्राप्त गरेको थियो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरुमा पुर्ण रुपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमीरेले बताउनुभयो । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली लगायतका मापदण्डहरूका आधारमा मूल्यांकन गर्दै आएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी घिमीरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।
‘हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा चुस्ती ल्याउने जस्ता प्रयासहरू गरेका छौ,’ प्रजिअ घिमीरेले भन्नुभयो ‘यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो ।’
यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उहाँको भनाई छ ।
कार्यसम्पादन मुल्यांकनमा दोस्रो नम्वरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्वरमा परेको छ भने सवैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरको ७३ दशमलब ८२ अंक प्राप्त गरेको छ ।






