पर्वतको फलामखानी संचालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन  - News site from Nepal
पर्वत, ३१ साउन :  पटक  पटक अनुसन्धान भएपनि वि.सं. २००७ सालदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ फलामखानीमा रहेको फलामको खानी उत्खनन् गर्नका लागि अध्ययन अनुसन्धान अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रवार आयोजित मन्त्रालयगत बार्षिक प्रगति समिक्षा तथा कार्यसम्पादन सम्झौता कार्यक्रममा विभागिय मन्त्री तथा सचिबलाई फलामखानी तत्काल संचालनमा ल्याउन निर्देशन दिनुभएको हो । नयाँ र युगान्तकारी काम गर्न सवै मन्त्री तथा सचिबलाई निर्देशन दिँदै धौवादी भन्दा पनि राम्रो  फलाम पर्वतको फलामखानीमा हुनसक्ने भन्दै त्यसलाई तत्काल संचालनमा ल्याउनका लागि अध्ययन अनुसन्धान थालिहाल्न निर्देशन दिनुभएको हो । उहाँले विशेषगरी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, मन्त्रालयका सचिब डा. रामप्रसाद घिमीरेलाई अध्ययन अनुसन्धान गर्न लगाईहाल्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले स्मरण गराउँदै भन्नुभयो– ‘पर्वत तथा कास्कीका विभिन्न खोलाहरुमा अहिलेपनि साविक फलामखानी गाविसको मैमडाँडाको फलामले बनेका पुलहरु रहेका छन् । विशेषगरी पोखराको भिमादमा समेत अहिलेपनि साङ्लवाला पुल झुण्डिईरहेको छ । त्यहिँका लोहारहरुको मेहनतले बनाएको पुल अझै झण्डिएको छ ।’ प्रधानमन्त्री ओलीले पर्वतको फलामखानीलाई धौवादीको फलामसँग मिलाएर उन्नत खालको फलाम उत्पादन गर्न सकिने बताउनुभयो ।
मुलुकको आर्थिक समृद्धि, रोजगार सिर्जना र आयातित फलामलाई विस्थापित गर्नका लागि यस्ता खालका उद्योगहरु संचालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!