
पर्वत : उपभोक्ताका हक र अधिकार सुनिश्चित गर्न मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पनि मनाइएको छ ।
पर्वत जेसीजको सक्रियता तथा समन्वयमा कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो ।
‘दिगो जीवनशैलीतर्फको न्यायपूर्ण रूपान्तरण’ नारासहित आयोजित कार्यक्रम जिल्ला प्रशासन कार्यालय कुश्मा, पर्वत तथा पर्यटन तथा उद्योग कार्यालय कुश्माको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख गणेश पौडेल रहनुभएको थियो ।
कार्यक्रमको मुख्य प्रशिक्षक रहनुभएका उहाँले संयुक्त राष्ट्र सङ्घले उपभोक्ताको लागि ८ ओटा आधारभूत अधिकारहरू तोकेको बताउनुभयो । गुणस्तरहीन वा हानिकारक वस्तुबाट जोगिन पाउने, सही जानकारी प्राप्त गर्न पाउने, विभिन्न विकल्पहरूमध्ये राम्रो छनोट गर्न पाउने, कुनै अन्याय भएमा गुनासो गर्न पाउने, क्षतिपूर्ति पाउन सक्ने, उपभोक्ता सचेतनाका लागि जानकारी प्राप्त गर्न पाउने, सफा र सुरक्षित वातावरणमा बाँच्न पाउने तथा आधारभूत आवश्यकताका वस्तुहरू खाना, लुगा, स्वास्थ्य लगायत सहज रूपमा पाउनुपर्ने उहाँको भनाइ छ । बजारमा सामान किन्दा म्याद सकिएको छ कि छैन, गुणस्तर कस्तो छ, मूल्य सही छ कि छैन भन्ने कुरा ध्यान दिनुपर्ने सहायक प्रजिअ पौडेलको भनाइ छ ।
कार्यक्रमको विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट रहनुभएको थियो । उहाँले सबै व्यवसायीहरू उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिएको र आफ्नो व्यापार सफल बनाउनका लागि ग्राहकहरूको विश्वास जित्नु अत्यन्त जरुरी रहेको बताउनुभयो । उपभोक्ता अधिकारको सम्मान गर्दै व्यापार गर्नु नै दीर्घकालीन सफलताको सूत्र भएको भन्दै उहाँले गुणस्तरयुक्त वस्तु तथा सेवा प्रदान गर्ने, सही मूल्यमा सामान बेच्ने, नक्कली वा गुणस्तरहीन वस्तु नबेच्ने, ग्राहकलाई स्पष्ट जानकारी दिने, न्यायसङ्गत व्यापार नीति अपनाउने लगायतका असल व्यवहारहरू पालना गरिनुपर्ने डिएसपी विष्टको भनाइ छ ।
कार्यक्रममा पर्वत जेसिजका पूर्वअध्यक्ष तथा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेल, पर्वत जेसिज वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेल, नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, पर्यटन तथा उद्योग कार्यालय प्रमुख तथा पर्वत जेसिज वर्ष २०२५ का पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।
विशेष गरी पर्वत जेसिजले उपभोक्ता सचेतना अभिवृद्धिमा खेल्नुपर्ने भूमिकालाई कार्यक्रममार्फत उजागर गर्दै, उपभोक्ता अधिकार संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ । पर्वत जेसीजको समन्वय तथा सरकारी निकायहरूको आयोजनामा सम्पन्न यस कार्यक्रमले उपभोक्ता अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।