मोदी गाउँपालिकाको वित्तिय प्रगति झण्डै ८१ प्रतिशत, ८२ वटा योजना सम्पन्न  - News site from Nepal
पर्वत ३१ असार :  पर्वतको मोदी गाउँपालिकामा चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका ८२ वटा योजना सम्पन्न भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा बजेट बिनीयोजन भएका ८६ वटा भौतीक पुर्वाधारका योजना मध्ये ८२ वटा सम्पन्न भएका हुन् । बाँकी चार वटा मध्ये एक योजना निर्माणाधिन अवस्थामा रहेको छ भने तीन वटा कार्यान्वयनमै नआएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२मा बजेट बिनियोजन भएका मध्ये ८१ वटा योजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो भने पाँच वटा टेण्डर मार्फत कार्यान्वयन गरिएको हो । टेण्डरमार्फत संचालित ठुला योजना मध्ये चारवटाको काम सम्पन्न भई भुक्तानी समेत भैसकेको र रतिखोला सिंचाई योजना निर्माणाधिन अवस्थामा रहेको छ । यो सिंचाई योजना आगामी कात्तिक मसान्त सम्म सम्पन्न गर्ने अवधि रहेको छ ।
गाउँपालिकाका सुचना अधिकारी प्रवीन पोखरेलका अनुसार उपभोक्ता समिति मार्फत सडक, सिंचाई, खानेपानी, विद्यालय तथा मठमन्दिर मर्मत, पदमार्ग निर्माण, समाजघर तथा खेलमैदान लगायतका साना र छोटो अवधिका योजनाहरु निर्माण गरिएको हो । स्थानीय नागरिकका आवश्यकता अनुसारका योजना भएकाले उपभोक्ता समितिमार्फतनै संचालन गर्दा गुणस्तरीय र समयमै सम्पन्न भएको सुचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा पालिकाको भौतिक प्रगति करिब सत्‌प्रतिशतको हाराहारीमा पुगेको उहाँको भनाई रहेको छ । रु. पाँच लाख भन्दा कम बजेटका अधिकांस साना योजनाहरु वर्षायाम नलाग्दै सम्पन्न भएका थिए ।
यसैगरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२मा वित्तिय प्रगति ८० दशमलब ७९ प्रतिशत भएको जनाएको छ । चालु आर्थिक वर्षमा बिनियोजित कुल रु.५८ करोड ८५ लाख २४ हजार तीन सय ९९ रुपैया मध्ये रु. ४७ करोड ५४ लाख ७६ हजार नौ सय ८२ रुपैया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
उहाँका अुनसार चालु तर्फ रु.४५ करोड ६५ लाख ३२ हजार सात सय ४९ रुपैया मध्ये रु. ३९ करोड ४६ लाख ४८ हजार आठ सय ८५ रुपैया खर्च गरी ८६ दशमलब ४४ प्रतिशत प्रगति भएको छ भने पुँजीगत तर्फ रु. १३ करोड १९ लाख ९१ हजार छ सय ५० रुपैया मध्ये रु. आठ करोड आठ लाख २८ हजार ९७ रुपैया खर्च भएर ६१ द्यशमलब २४ प्रतिशत प्रगति भएको छ ।
पुँजीगत खर्च कम देखिएपनि समग्र प्रगतिमा गत वर्षभन्दा सुधार आएको प्रमुख प्रशासकिय अधिृकत पुरीले जानकारी दिनुभयो । यस बाहेक संघीय सरकार र प्रदेश सरकार अन्तर्गत पालिका भित्र संचालित सडक, पुल, सिंचाई, खानेपानी जस्ता योजनाहरुको काम समेत भैरहेको छ । ती योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि पालिकाले सहजीकरण गरिरहेको पुरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!