पर्वत, १ जेठ : मादक पदार्थ सेवन गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा पर्वत प्रहरीले पक्राउ गरेका एक युवा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नागलीवाङका ४६ वर्षिय श्रीलाल दमाईलाई बुधवार पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनले आफ्ना पिता ७० वर्षिय प्रेमलाल दमाईलाई मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा कुटपिट तथा घरको भित्तामा टाउको ठोक्काएर हत्या गरेको अभियोगमा प्रहरीले गत वैशाख ६ गते पक्राउ गरेको थियो ।
कुटपिटबाट गम्भिर घाईते भएका बृद्ध दमाईको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । गत वैशाख ४ गते राती ११ बजेको समयमा सुतिरहेका बाबुलाई उनले आक्रमण गरेका थिए । उनलाई वैशाख ६ गतेनै पक्राउ गरिएको भएपनि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया पुरा नभएका कारण सार्वजनिक नगरिएको र पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिनुभयो ।
आफन्तको जाहेरीको आधारमा उनलाई घरवाटै पक्राउ गरिएको थियो । अभियुक्त श्रीलालले मादक पदार्थ सेवन गरी घरपरिवारलाई बेला बेलामा यातना दिने गरेको समेत अनसन्धानमा खुलेको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो ।





