
पर्वत, १ वैशाख : कालीगण्डकी नदि स्नान गरेर भिडियो खिच्ने क्रममा बगेर एक महिला वेपत्ता भएकी छिन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्त बेपत्ता भएकी हुन् । विहान ९ बजेको समयमा ढुंगा चिप्लिएर लड्दा कालीगण्डकीले बगाएको हो ।
वेपत्ता बनेकी पन्तको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र शसस्त्र प्रहरी बल २५ नं. गण चण्डिकाको टोलीले खोजी कार्य तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो । प्रहरीको टोली खोजी गर्दै विहादीसम्म पुगिसकेको छ ।
उनिसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनिहरु भने सकुसल फर्किएको प्रहरीले जनाएको छ ।
नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनहरुको घुँईचो लागेको छ ।