
पर्वत, १ चैत : पर्वतको अधिकांस क्षेत्रमा रहेको खेतीयोग्य भूमिको माटोमा अम्लियपन बढ्दै गएको पाईएको छ ।
समय समयमा माटो परिक्षण गरि उपचार नगर्दा माटोमा अम्लियपना बढ्दै गएको हो । कृषि ज्ञान केन्द्र पर्वतले दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा संचालन गरेको माटो परिक्षण शिविरमा गरिएको परिक्षणमा ६० प्रतिशत भन्दा बढि अम्लियपना देखिएको हो । शिविरमा गरिएको ८० वटा नमुना परिक्षणमा ६० वटामा अम्लियपनाको मात्रा उच्च भेटिएको कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिकृत सोविता सुवेदीले जानकारी दिनुभयो ।
गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु लगायतका कारण अम्लियपन बढ्दै गएको उहाँको भनाई छ
नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
कृषकहरुले बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रिएको उहाँले बताउनुभयो । कृषकहरूलाई आवश्यक ज्ञान नहुँदा पनि माटोको गुणस्तर सुधार गर्नतर्फ ध्यान जान नसकेको सुवेदीको भनाई छ ।
निःशुल्क माटो परीक्षण सेवा र चुन वितरण जस्ता कार्यक्रमहरूले स्थानीय कृषकहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने स्थानीयको भनाई छ । कृषकहरूलाई सरल र प्रभावकारी तरिकामा माटो सुधार गर्ने उपायहरू प्रदान गर्न प्रयास गरिरहेको र यसले दिगो र समृद्ध कृषि विकासमा मद्दत पुग्ने कृषि ज्ञान केन्द्र पर्वता प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।
माटो परीक्षणको परिणाम अनुसार, अम्लीय माटो सुधारका लागि पैयूँ गाउँपालिकाले सिफारिस गरिएका मात्रामा निःशुल्क चुन वितरण गर्ने निर्णय गरेको छ । यसले कृषकहरूलाई माटोको गुणस्तर सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पैयूँ गाउँपालिका कृषि शाखामा दैनिक निःशुल्क माटो परीक्षण सेवा उपलब्ध रहेको छ र यस सेवाले कृषकलाई माटोको स्वास्थ्य र उत्पादन वृद्धि गर्ने उपायहरूको बारेमा मार्गदर्शन दिने कृषि शाखा प्रमुख विश्वास अधिकारीले बताउनुभयो ।
यस अघि जिल्लाका अन्य पालिकाहरुमा गरिएको माटो परिक्षण शिविरमा पनि अधिक मात्रामा अम्लियपन देखिएको थियो । स्थानीय पालिकाहरुले अम्लियपन देखिएका क्षेत्रमा निःशुल्क कृषि चुन उपलव्ध गराउँदै आएका छन् ।