महाशिला गाउँपालिका बन्यो पर्वतकै उत्कृष्ट - News site from Nepal
महाशिला गाउँपालिका बन्यो पर्वतकै उत्कृष्ट

पर्वत, २ फागुन : पर्वतको महाशिला गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा जिल्लाकै उत्कृष्ट बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा महाशिला गाउँपालिका सवैभन्दा बढि अंक प्राप्त गरेर उत्कृष्ट बनेको हो ।

जिल्लाका सातवटा स्थानीय तहमध्ये महाशिला गाउँपालिकाले ७३ दशमलव ६ प्रतिशत अंक प्राप्तगरी पहिलो स्थानमा रहेको छ । जलजला गाउँपालिका ७० दशमलव १ प्रतिशत अंक प्राप्तगरी दोस्रो स्थानमा छ । यस्तै, कुश्मा नगरपालिकाले ६४ दशमलव ७ अंक प्राप्तगरी तृतीय स्थान प्राप्त गरेको छ ।

यसैगरी, फलेवास नगरपालिकाले ६० दशमलव ६, मोदी गाउँपालिकाले ५९ दशमलव ९, पैयु गाउँपालिकाले ५८ दशमलव ८ र विहादी गाउँपालिकाले ५४ दशमलव ८ प्रतिशत अंक प्राप्त गरी पुछारमा रहेको छ ।

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकाङ्कका आधारमा मूल्यांकन हुने गर्दछ ।

‘‘सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं” महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले भन्नुभयो, “समन्वय, पूर्वाधार, न्यायिक कामहरु राम्रै छन् । नीति, नियम, कानुन बमोजिमकै कामहरु गरिरहेका छौं । अझै राम्रो गर्ने प्रयास गछौं ।”

महाशिला गाउँपालिका अघिल्लो आर्थिक वर्ष पनि कार्यसम्पादन मूल्यांकनमा जिल्लामा नै पहिलो भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!