पर्वत : सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ।
जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो। मरेका बङ्गुरबाट निकालिएको नमुनालाई केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा लगेर परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्राविधिक प्रकाश परियारले बताए।
करिब १०/१२ दिन अगाडि जलजलाको एउटा ‘फार्म’ मा रहेका बङ्गुरहरू मरेपछि सुरक्षा सतर्कता सहित जिल्लाभर नै पूर्व सतर्कता अपनाउन भनिएको थियो। ‘पिसिआर रिपोर्ट’ ‘पोजेटिभ’ आएपछि जलजलाका फार्म वा अन्यत्रबाट मासु आयात गरेर कारोबार हुने ठाउँहरूमा समेत सङ्क्रमण फैलिन सक्ने भन्दै कार्यालयले जैविक सुरक्षाका उपायहरू अपनाउन भनेको थियो।
पोखरा र तनहुँका केही बङ्गुर ‘फार्म’मा केही समयअगाडि नै ‘अफ्रिकन स्वाइन फिवर’ देखिएको र कुनै माध्यमले ती ‘फार्म’ वा त्यहाँ उत्पादित मासुको कारोबारका कारण जिल्लामा सङ्क्रमण भित्रिएको हुन सक्ने अनुमान गरिएको प्राविधिक परियारले बताए। ती क्षेत्रहरूबाट कुश्माका होटलहरुमा मासु आयात गर्नु, मासुका अंश बढी भएको वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुगेको हुन सक्ने प्रारम्भिक अनुमान छ।
‘पोखरा र तनहुँका विभिन्न बङ्गुर फार्ममा यसअघि नै सङ्क्रमण देखिइसकेको छ। त्यहाँको मासु होटेलमा प्रयोग भयो। उक्त होटेलबाट निस्किएको फोहोर, फालिएको खानेकुरा तथा खानेकुरा सरसफाइ गर्दाको पानी बङ्गुरलाई दिइने दानामा मिसियो’, उनले भने, ‘होटेलमा फालिएको खानेकुरा लगेर बङ्गुरलाई आहाराको लागि दिँदा त्यसैबाट सरेको हुन सक्छ। तर यही नै कारणले सरेको भन्ने चाहिँ छैन।’
जलजलामा फिवरको पुष्टि हुँदासाथ जलजलाका बङ्गुर ‘फार्म’हरूमा पुगेर जैविक सुरक्षाका लागि केही सामग्रीहरू कार्यालयले वितरण गरिसकेको छ। यो रोग लागेपछिको उपचार र सङ्क्रमण हुन नदिनको लागि खोप नभएकोले जैविक सुरक्षा नै उत्तम उपाय मानिएको छ। सोही अनुसार कार्यालयले पनि सम्भावित ‘फार्म’हरूमा सुरक्षाका मापदण्ड कार्यान्वयन गराउँदै अन्य स्थानमा पनि लक्षण देखिएमा ‘भेटेरिनरी’ अस्पतालमा सम्पर्क गरिहाल्न कृषकहरूलाई अनुरोध गरेको छ। मासुको ओसारपसारबाट नै यसको सङ्क्रमण फैलिने भएकोले सुँगुर र बङ्गुरको मासु वा अन्य पदार्थहरू ओसारपसार नगर्न आग्रह गरिएको थियो छ।
कार्यालयका निमित्त प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले रोगी पशुसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित दानापानी तथा होटेल रेस्टुरेन्टबाट फालिएका सङ्क्रमित खानेकुरा र सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा फैलिने भन्दै रोग लागेमा सुँगुर र बङ्गुरको शत प्रतिशतसम्म मृत्यु हुने सम्भावना रहेको बताए। अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा उच्च ज्वरो आएमा, कान, पुच्छर पेटको तल्लो भागको बाहिरी छाला रातो भएमा, शरीरमा निलो धब्बा देखिएमा, खाना नखाएमा, बान्ता गरेमा, छेरेमा, छटपटाएमा, तुहिएमा तत्काल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा खबर गर्न उनको सुझाव छ।
सङ्क्रमणबाट जोगिन तथा फैलिन नदिन बङ्गुर पालिएको खोर र ‘फार्म’ परिसरमा नियमित सरसफाइ गरी चुना, ‘ब्लिचिङ पाउडर’, ‘फर्माइलिन’ लगायतका रसायन प्रयोग गरी निःसङक्रमण गर्ने, शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने, घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट बङ्गुर प्रजाति त्यसका पाठा पाठी, सङ्क्रमित मासु र दानाको ओसारपसार नगर्ने उपाय अपनाउनुपर्छ। यस्तै सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने, तयारी दानाबाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर मात्र खुवाउने, ‘फार्म’ को मुख्य प्रवेशद्वार तथा खोर बाहिर निःसङ्क्रमणमा प्रयोग हुने रसायन सहितको व्यवस्था गर्न पनि प्राविधिकले सुझाएका छन्।
गत वर्ष जिल्लामा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण नदेखिएको भए पनि दुई वर्ष अगाडि भने करिब एक सय ६० भन्दा बढी बङ्गुर यही रोगको सङ्क्रमणबाट मरेका थिए। त्यो बेलामा करिब २० लाख बराबरको नोक्सान भएको प्राविधिक परियारले बताए।
पर्वतमा करिब ७० वटा जति सुँगुर तथा बङ्गुरका ‘फार्म’छन्। जसमा करिब दुई हजार जति सङ्ख्यामा बङ्गुर रहेको अनुमान छ।






