कुश्मा घुम्न आएका अष्ट्रेलियन दम्पतीको पासपोर्ट बाँदरले लगेपछि… - News site from Nepal

पर्वत, २६ असोज : पर्वत सदरमुकाम कुश्माको बञ्जि साईडमा अनौठो घटना घटेको छ । पछिल्लो समय गाउँघरमा बाँदर आतंक बढेको खबर त नौलो थिएन । तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिक सहित दुई जनाको पासपोर्ट नै गायब पारिदिएको छ ।

बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी नेपाली श्रीमती दिब्या कार्कीको पासपोर्ट राखेको झोलानै गायब बनाएपछि ति पर्यटकहरु अहिले बिलखबन्दमा परेका छन् । पर्वतको कुश्मा स्थित बन्जी साईडमा द क्लिफ ले संचालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाईन अबलोकनका लागि आईपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको पासपोर्ट सहितको झोला बाँदरले लिएर भिरतिर भागेको पिडित पर्यटकले बताएका छन् । अष्ट्रेलियन नागरिक आडम्स र उनकी श्रीमती कार्कीले एउटै झोलामा पासपोर्ट सहित अन्य महत्वपुर्ण कागजात राखेका थिए ।

पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि भेटिएको छैन । ‘हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ गाडीमा । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उहाँले भन्नुभयो, ‘फर्किदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजोदेखि ७ जना प्रहरीको टोली खटाएका छौँ, आज सशस्त्र पनि जानुभयो,’ यादवले भन्नुभयो, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीरहरू छ, छिर्नै गाह्रो छ ।’

उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ,’ डीएसपी यादवले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!