हरित सडक बनाउँदै पर्वतको महाशिला  - News site from Nepal
हरित सडक बनाउँदै पर्वतको महाशिला 
पर्वत २८ असार : पर्वतको महाशिला गाउँपालिका भित्र रहेका सवै सडकलाई हरित सडकको रुपमा विकास गरिने भएको छ ।
विकास, वातावरण र पर्यावरणलाई संरक्षण गर्दै हराभर सडक बनाउने उद्धेश्यले हरित सडक बनाउन लागिएको हो । पालिका भित्र रहेको एक सय ८३ किलोमिटर सडकका दायाँ र बाँया फलफुल, डाँलेघास, र फुलका बिरुवा रोप्न लागिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिका भित्रका अधिकांस सडक कच्ची रहेका छन् । जसमध्ये २२ किलोमिटर कालोपत्र तथा ढलान र २३ किलोमिटर सडक सोलिङ गरिएको छ । सडकलाई बाह्रैमास संचालन गर्नका लागि वर्षायाममा बाढी नियन्त्रण गर्न ४० जना स्वयंसेवक समेत परिचालन गरिएको छ ।
गत असार १० गते सम्पन्न गाउँ सभाले हरित सडकका लागि रु. १० लाख रुपैया बजेट समेत बिनियोजन गरेको छ । अपुग बजेट आगामी गाउँसभावाट संशोधन गरेर बिनीयोजन गरिने अध्यक्ष भुसालले बताउनुभयो । गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अन्तर्गत छनौट गरेका चार सय जना स्वयंसेवक परिचालन गरी सडकका दायाँ बायाँ रुखबिरुवा रोपिने उहाँले बताउनुभयो ।
भु तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालयसँग पनि डालेघाँस र फलफुलका विरुवा माग गरिएको र अपुग विरुवा पालिका आफैले ब्यवस्थापन गरेर रोपिने भएको छ । हरित सडक बनेपछि भुक्षय तथा बाढिपहिरो जस्ता प्रकोप न्यूनिकरण हुने र सडकको सुरक्षा समेत हुने उहाँले बताउनुभयो ।
भिरालो र पहाडी क्षेत्र बढि भएको महाशिलामा वर्षायाममा अधिकांंस सडकमा बाढीपहिरोको समस्या आउने गरेको छ । दायाँवायाँ रुखहरु रोपेपछि बाढिपहिरोको समस्या न्यूनिकरण हुने अपेक्षा गरिएको अध्यक्ष भुसालको भनाई छ । ‘बिरुवा उपलव्ध भएपछि दश/पन्ध्र दिनमै रोपेर सक्छौ–अध्यक्ष भुसालले भन्नुभयो बहुउपयोगी विरुवाहरु रोप्ने योजना रहेको छ ।’
महाशिलामा अब नयाँ मार्ग खोल्नुपर्ने अवस्था नरहेकाले पुराना सडकहरुलाई व्यवस्थित गर्न थालिएको हो । संघ, प्रदेश र स्थानीय सरकारबाट बिनीयोजित बजेटले सडक कालोपत्र, स्तोरोन्नती, नाली निर्माण लगायतका कामहरु भैरहेको उहाँको भनाई रहेको छ । जिल्लाको सवैभन्दा सानो पालिकाको रुपमा रहेको महाशिलाले आगामी आर्थिक वर्षको बजेटमा समेत कृषि र पुर्वाधारलाई जोड दिएको छ ।
पालिकाले यस अघि बाँझो रहेको जग्गा सदुपयोग गर्नका लागि फलफुल खेती विस्तार गर्दै आएको छ । ओखर, मेकाडेमियानट, तरुल, अम्बा, केरा लगायत बाँदरले नष्ट गर्न नसक्ने खालका फलफुल खेती  विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष धनशोभा विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!