पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
अपाङ्ग उत्थान समाज पर्वतले सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा सामाग्री वितरण गरेको हो । अपाङ्गता भएका बिद्यार्थीहरुका लागि आवश्यक पर्ने झोला, कापी, कलम, पेन्सिल, पेन्सिल ब्याग र फेसटावेल तथा खेल्नका लागि भलिबल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोबिन्द पौडेलले बौद्धिक रुपले समस्यामा रहेका विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सहयोग पुर्याउने उद्धेश्यले सामाग्रीहरु वितरण गरिएको बताउनुभयो । उहाँले यस्ता बिद्यार्थीहरुलाई शिक्षामा सहजीकरण गर्नका लागि कार्यालय तयार रहेको बताउँदै आगामी दिनमा समेत सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ नारायणदत्त भट्ट, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । यो विद्यालयले २०६० सालदेखि बौद्धिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई आवासीय रुपमा पठनपाठन गराउँदै आएको छ । अहिले १० जना बौद्धिक अपांगता भएका विद्यार्थी रहेका छन् । भने अन्य विद्यार्थी झण्डै ४० जना रहेको विद्यालयका प्रअ नारायणदत्त भट्टले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गडनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अपांग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रशासकिय अधिकृत बालकृष्ण घिमिरे, अपांग उत्थान समाजका हरिदत्त शर्मा, गणेश सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।
सो अवसरमा सामाजिक विकास कार्यालयद्धारा संचालित विभिन्न योजनाहरुको पनि अनुगमन गरिएको थियो ।







