पर्वत फोटोग्राफर संघको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न - News site from Nepal

पर्वत– पर्वत फोटोग्राफर संघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ । नयाँ वर्षका सवै तिथि मिति, सार्वजनिक विदा र कार्यक्रमहरु समावेश गर्नुका साथै संघका कार्यक्रमहरु सहित क्यालेण्डर प्रकाशन गरिएको हो । क्यालेन्डरको बिहीवार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष नारायणबहादुर केसी सहित संघका संरक्षक, सल्लाहाकार र अन्य अतिथिको सहभागितामा क्यालेण्डर बिमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले फोटोग्राफर संघले जिल्लाको समग्र विकासका लागि योगदान गर्दै आएको बताउनुभयो । पछिल्लो समय फोटो र क्यामेराको महत्व अझै बढ्दै गएको बताउँदै यसलाई कायम राख्नका लागि सवै फोटोग्राफरहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा संघले दुर्घटना पिडित शिक्षिकालाई रु. ५ हजार रुपैया आर्थिक सहयोग समेत गरेको छ । गत वर्ष जीपको ठक्करवाट घाईते भएकी महाशिला गाउँपालिकाकी शिक्षिका सरिता चापागाईको उपचारमा सहयोग पुर्‍याउने उद्धेश्यले उक्त सहयोग गरिएको हो ।
संघका अध्यक्ष विजय शर्मा जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रमेश श्रेष्ठ र संचालन सचिब नारयण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!