सहयोग संकलन गरेर पर्वत काँग्रेसको पार्टी कार्यालय पुर्ननिर्माण गरिँदै  - News site from Nepal
पर्वत २४ असोज :  गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनी गरिएको नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय अर्थात विपि स्मृति भवन पुर्ननिर्माण गर्न थालिएको छ ।
नेपाली काँग्रेसका कार्यकर्ता, शुचेच्छुक, शुभचिन्तक तथा अन्य राजनतिक दल र आम नागरिकहरुसँग सहयोग संकलन गरेर पार्टी कार्यालय मर्मत तथा पुर्ननिर्माण गर्न थालिएको हो । भवन पुर्ननिर्माणका लागि रु. २१ लख १९ हजार ८ सय रुपैया लाग्ने भएको छ ।
भदौ २४ गते साँझ मोटरसाईकलनमा आएको युवाहरुको समुहले पेट्रोल छर्केर भवनमा ढुंगामुडा सहित आगजनि गरेको थियो । आगजनीवाट कार्यालयमा रहेका दुई थान कम्प्युटर, एक ल्यापटप, कुर्चि, सोफा, कार्पेट, टेवुल लगायत वायरिङ, मुख्य गेट तथा प्रवेश द्धारमा पुर्ण क्षती पुग्नुका साथै गाह्रो, भित्ता र ढलानमा समेत क्षति पुगेको छ ।
कार्यालय मर्मतका लागि पार्टीको कोषमा रकम भएपनि कार्याकर्ताहरुसँगको पार्टीप्रतिको सम्वन्ध विस्तार, पार्टी र आम नागरिकबीचको भावना जोड्नका लागि सहयोग संकलन गरेर मर्मत गर्न थालिएको विपि स्मृति भवन पुर्ननिर्माण तथा मर्मत समितिका संयोजक शिव शर्मा पौडेलले बताउनुभयो । उहाँले एक महिना भित्रमै भवन पुर्ण रुपमा मर्मत सम्पन्न गरेर पार्टीलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।
पार्टी कार्यालयमा भएको क्षति र पुर्ननिर्माण सम्वन्धमा शुक्रवार विहान गरिएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन विपि स्मृति भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जेनजीको आडमा लोकतन्त्रमाथि प्रहार गर्न खोजीएको बताउनुभएको छ । जेनजी पुस्ताले राखेका मागहरु जायज र मुलुकको आवश्यकता भएपनि उनिहरुको नाममा अराजक तत्वले विधसांत्मक कृयाकलाप गरेको बताउनुभयो ।
उहाँले नेपाली जनताको लामो इतिहास बलिदानीवाट प्राप्त उपलव्धीलाई विभिन्न स्वार्थ समुहले बिथोल्न खोजेको बताउँदै यसका निम्ति नेपालका राजनीतिक दलहरु आफुलाई सच्याउँदै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जेनजी आन्दोलनलाई भड्काउँदै गरिएको यस्ता आगजनीमा संलग्न जो कोहिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आज राजनीतिक दलमाथि गरिएको आक्रमण भोली सर्वसधारण जनतासम्म पुग्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलन भन्दा सुरक्षा निकायले फैलाएको त्रासका कारण आगजनीका घटना घटेको बताउनुभयो । सुरक्षा निकायको गैरजिम्मेवारी पनाले गर्दा राज्यले ठुलो क्षति ब्यहोर्नुपरेको बताउँदै यसलाई गम्भीर ढंगले समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगजनीमा संलग्न जो कोहीलाई पनि आवश्यक कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सभापति जोशीले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि नयाँ समिति बनाएर जिम्मा दिइएकोले सबै कार्यकर्ता र शुभेच्छुकहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय विगत पाँच वर्ष अघि रु. एक करोड ४८ लाख रुपैयामा सम्पन्न भएको हो । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा अन्य दलमा आस्था राख्नेहरु र विदेशमा भएकाहरुको सहयोगमा कार्यालय निर्माण गरिएको थियो ।
 संयोजक पौडेलले इष्टिमेट गरेको भन्दा कम खर्चमा भवन निर्माण पुरा गरेर बचत रकम पार्टीलाई हस्तान्तरण गर्ने वताउनुभयो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले पाँचहजार एकसय ५० रूपैयाँ समितिका संयोजक पौडेललाई प्रदान गरेर सहयोगको शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सचिव एवं भवन पुनर्निर्माण समितिका सदस्य उत्तम ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!