पर्वत, २६ चैत : गण्डकी प्रदेश सरकारको कृषि भूमि तथा सहकारी मन्त्रालयले पर्वत सदरमुकाम कुश्मामा पहिलोपटक बजार अनुगमन गरेको छ ।
कुश्माबजारका होटल, फलफुल तथा तरकारी पसल, मासु पसल, होलसेल तथा खुद्रा किराना पसलमा अनुगमान गरिएको हो । मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत कुमार भण्डारीको नेतृत्वमा आएको टोलीले कुश्माबजारको बञ्जि साईड, लोकतन्त्र चोक, प्रगति चोक, मैत्री चोक लगायतका स्थानमा अनुगमन गरेको छ ।
विभिन्न प्रकृतिका ३३ वटा पसल अनुगमन गरिएको मन्त्रालयका खाद्य अनुन्धान अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा अधिकांस पसल तथा होटलमा म्याद नाघेका पेय पदार्थ धेरै मात्रमा नष्ट गरिएको छ । यसैगरी होटलहरुका भान्छाघरहरु अव्यवस्थित र फोहोर भेटिएका छन् भने जंकफुडहरु समेत अब्यवस्थित रुपमा झुण्डाएर राखिएको पाईएको छ ।

यसैगरी तरकारी पसलमा कुहेको र नकुहेका तरकारी र फलफलु एकै ठाउँमा राखिएको, अधिकांस पसलमा सरसफाईको कमी देखिनुका साथै मासु पसलहरुमा समेत धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको छ । मन्त्रालय स्तरवाट पहिलोपटक गरिएको अनुगमनमा केहि पेय पदार्थ र खाद्य पदार्थ नष्ट गर्न लगाईएको भएपनि पुर्ण रुपमा सुधार गर्न अनुरोध गरिएको भण्डारीले बताउनुभयो ।
अर्को पटकको अनुगमनमा सुधार नभएको पाईएमा आवश्यक कारबाही गरिने उहाँले बताउनुभएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र पर्वत, पर्यटन तथा उद्योग कार्यालय, भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र, पर्वत उद्योग बाणिज्य संघ, होटल ब्यावसायी संघ, नेपाल पत्रकार महासंघ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।






