पर्वतका सरकारी निकायको सेवा प्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई– नागरिकको चरम असन्तुष्टि - News site from Nepal

पर्वत २५ पुस : पर्वतका सरकारी कार्यालय र स्थानीय तहवाट भैरहेको सेवा प्रवाह सम्वन्धम सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा बुधवार सम्पन्न कार्यक्रममा सहभागिहरुले सरकारी कार्यालयहरुवाट प्रवाह भैरहेको सेवा र संचालन कार्यक्रमहरुप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । अहिलेपनि पहुँचवालाको दबाब र प्रभावको भरमा नागरिकले सेवा लिनुपर्ने अवस्था, राज्यवाट प्रवाहित कार्यक्रमहरु आधारभुत तहसम्म पुग्न नसक्नु, लक्षित बर्गका नागरिकरु सेवा सुविधावाट बञ्चित हुनु परेको उनिहरुको गुनासो छ ।
कार्यक्रममा सहभागि कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुले सरकारी कार्यालय र स्थानीय तहहरुमा कर्मचारीहरुवाट लापरबाही भैरहेको बताएका छन् । जिल्लामा सञ्चालित जतिपनि सरकारी कार्यालयवाट चालु आर्थिक वर्षका कार्यक्रमहरु लागु भएका छन् ति कार्यक्रमले बास्तविक लाभग्राहीसम्म पुग्न नसकेको उनिहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालयदेखि व्यावसायिक तथा सिप विकास तालिम सम्मका गतिविधिप्रीत जनप्रतिधिले प्रश्नचिन्ह उठाएका छन् ।
कार्यलयवाट संचालित योजनाहरुको काम समयमै सम्पन्न हुन नसकेको, कामको गुणस्तरियता नदेखिएको, उपभोक्ता समितिहरुलाई भुक्तानी प्रकृयामा अल्झाउने गरिएको, जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणमा लचिलो व्यवहार नगरेको, बजार नियमित अनुगमन नहुँदा ग्रामीण क्षेत्रमा म्याद गुज्रेका बस्तुहरु खुलेआम विक्रि वितरण भैरहेको, भाडा समायोजन हुन नसक्दा सवारी साधनको मनोमानी बढेको, जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय नगरिएको जस्ता गुनासा सहभागिका रहेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी निकायहरु नगरिकलाई नै सर्वसुलभ सेवा प्रवाहका लागि राखिएको बताउनुभयो । उहाँले सुशासन कायम गर्दै नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिनका लागि मातहतका कार्यालय प्रमुखहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले कुनै भनसुनको आधारमा नभई संविधान र कानूनको परिधिभित्र रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागि नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रुद्र शर्मा तिमिल्सिना, राप्रपाका अध्यक्ष प्रभु गुरुङ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, पत्रकार गणेश पौडेल लगायतले पारदर्शिता, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई जोड दिन आग्रह गर्नुभएको थियो । कुनैपनि दलगत स्वार्थ र राज्यका सेवा सुविधा तल्लो तहसम्म पुर्‍याउन कन्जुस्याई नगर्न समेत उहाँहरुले आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खगराज शर्मा, वडा नं. २ का अध्यक्ष लालकृष्ण बास्तोला, वडा नं. ३ का अध्यक्ष तेजप्रसाद उपाध्याय, वडा नं. ६ का अध्यक्ष इश्वर गिरी, वडा नं. १० का ११ का अध्यक्ष बाबुराम पौडेल, १२ का अध्यक्ष झलक रिमाल र १४ का अध्यक्ष रुद्रमोहन रिमालले विभिन्न जिज्ञासा राख्नुभएको थियो । सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ सम्वन्धित कार्यालयका प्रमुख वा प्रतिनिधिले दिनुभएको थियो ।

यस अघि जिल्लाका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया भएको थियो भने जिल्ला प्रशासन कार्यालयले केहि समय अघि सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनवाट विभिन्न पदमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!