पर्वत कारागारका थप दुईजना थुनुवा फर्किए, अझै छ जना फरार  - News site from Nepal
पर्वत कारागारका थप दुईजना थुनुवा फर्किए, अझै छ जना फरार 
पर्वत २२ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका मध्ये थप दुई जना थुनुवा मंगलवार कारागार फर्किएका छन् ।
कारागारवाट भागेका १९ जना मध्ये ११ जना पहिलेनै फर्किएका थिए । मंगलवार  फर्किनेमा सहकारी ठगि मुद्धाका थुनुवा रहेका फलेवास नगरपालिका वडा नंं. ३ शंकरपोखरीका विष्णु तिवारी र सोहि मुद्धाका विहादी–३ रानीपानी घर भई कुश्माबजार बस्ने राजु शर्मा रहेका छन् । उनिहरु मंगलवार कारागारमा हाजिर भएको पर्वत कारागार कार्यालयका जेलर नविन सुवेदीले जानकारी दिनुभयो ।
फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सुचना जारी गरी असोज २० गतेभित्र कारागार फर्किन निर्देशन दिएको भएपनि अझै छ जना सम्पर्क बिहीन रहेका छन् । फरार कैदीबन्दीमा खैरापुर २ बर्दिया घर भई कुश्मा नगरपालिका वडा नं. ७ खरेहा बस्ने जवरजस्ती करणी मद्धाका टेक बहादुर राना मगर, कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गर्दैै आएका पैंयू गाउँपालिका वडा नंं ३ बेउलीवासका खेम थापा, पर्वतको विहादी गाउँपालिका वडा नंं. ६ का जवरजस्ती करणी मुद्धाका थुनुवा बसन्त विक, सहकारी ठगि मुद्धाका थुनुवा फलेवास नगरपालिका–२, थापाठानाका अनिल थापा, गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नंं ५ घर भई जवरजस्ती करणी मुद्धामा कैद भुक्तान गर्दै आएका दिपक विक र जलजला गाउँपालिका वडा नंं. ७ बाँस्कोटका जवरजस्ती करणी मुद्धाका थुनुवा समुन्द्र केसी अझैसम्म पनि सम्पर्कमा नआएको जिल्ला कारागार पर्वतका जेलर नविन सुवेदीले जानकारी दिनुभयो ।
कार्यदलले उनीहरूको नामावली सहित सार्वजनिक सूचना जारी गरेको थियो । कार्यदलको सुचनालाई अटेर गरि अहिलेसम्म पनि नफर्किएका कैदीबन्दीलाई कारागार ऐन, २०१९ तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने सुवेदीले चेतावनी दिनुभयो ।
कार्यदलले सार्वजनिक सूचना मार्फत फरार कैदीहरूलाई देखेमा वा उनीहरूको बारेमा कुनै जानकारी भएमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरेको छ ।
कार्यदलले फरार व्यक्तिहरूलाई लुकाउने, छिपाउने, वा सहयोग गर्ने कार्य गैरकानुनी हुने भन्दै त्यसप्रति पनि सचेत हुन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम र पहिचान गोप्य राखिने जनाएको छ । फरार कैदीबन्दी फर्काउन आवश्यक समन्वय सहकार्यका लागि सवैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!