पर्वतमा ट्राफिक सप्ताह शुरु - News site from Nepal
पर्वतमा ट्राफिक सप्ताह शुरु

पर्वत– सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित पर्वतमा ट्राफिक सप्ताह सुरु भएको छ । पहिलो दिन आइतबार प्रभातफेरी तथा एक समारोह सहित ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो ।

सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, चोक–चोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाइ गर्ने लगायतका कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख बमबहादुर गुरुङले बताउनुभयो ।
अव्यवस्थित पार्किङ हटाउने, धुँवा धुलोबाट बच्न मास्क वितरण गर्ने स्टिकर टाँस गर्ने, जेव्राक्रसस नभएको स्थानमा बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण लगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको छ । जिल्लामा मापदण्ड अनुसारको सडक नहुनु र सडकको मापदण्ड कार्यान्वयन नहुनु पार्किङ व्यवस्थापनको लागि चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न कर्यक्रमका जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले ट्राफिक सचेतनामुलक कार्यक्रम जिल्लाका सातवटै पालिकामा संचालन गर्न आग्रह गर्नुभयो । बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पनि ट्राफिक नियम उल्लंघन गर्नेहरु बढेको भन्दै ग्रामीण तहसम्म सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले ट्राफिक सचेतना र सडक सुरक्षा सम्वन्धि सडक नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटा र स्वागत ट्राफिक प्रहरी प्रमुख बमबहादुर गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!