पर्वतमा निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईयो  - News site from Nepal
पर्वतमा निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईयो 
पर्वत– निजामती कर्मचारीहरुको विशेष दिन निजामती सेवा दिवस २०८२ पर्वतमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारीहरुको स्वास्थ्य परिक्षण र कविता प्रतियोगिता कार्यक्रम संचालन गरी दिवस मनाईएको हो । व्याडमिन्टन प्रतियोगिता सुरक्षाकर्मी र निजामती कर्मचारीको छुट्टाछुट्टै संचालन गरिएको थियो ।
व्याडमिन्टन प्रतियोगितामा निजामती कर्मचारी तर्फ प्रथम सुर्य भट्टराई र सुर्य शर्मा, द्धितिय सुनिल थापा र लोकबहादुर खड्का बनेका छन् भने सुरक्षाकर्मीतर्फ प्रथम हुमबहादुर सारु र लालबहादुर राना तथा द्धितिय ज्ञानबहादुर सुनार र ललित विष्ट बनेका छन् ।
आइतवार आयोजित कविता प्रतियोगितामा प्रथम प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्य, द्धितिय जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर भरत सापकोटा, तृतिय महाशिला गाउँपालिकाका प्रम्‌ुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेय, र सान्त्वना जिल्ला निर्वाचन कार्यालयकी नायब सुब्बा सृजना रेग्मी बन्नुभएको थियो ।
यस अघि शनिवार आयोजित कर्मचारीहरुको स्वास्थ्य परिक्षण कार्यक्रममा जिल्लाभरका कर्मचारीहरुले विभिन्न रोगहरुको परिक्षण गराएका थिए ।
कार्यक्रम समापनको अवसरमा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले निजामती कर्मचारी यो मुलुकको स्थायी सरकारको रुपमा रहेको बताउनुभयो । नागरिकलाई चुस्त  र प्रभावकारी सेवा प्रवाहका साथै सुशासन र पारदर्शिता कायम गर्नका लागि निजामती कर्मचारीहरु सदैव इमान्दार बन्नुपर्नेमा जोड दिँदै कर्मचारीहरुको समय अुनसार सेवा सुविधा बृद्धि विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुको विकास र अभिबृद्धिका लागि फलेवास नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनिका केन्द्रीय सदस्य यमप्रसाद शर्मा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष उमेश सापकोटा, टे्रड यूनियन पर्वतका अध्यक्ष उद्धिमराज पौडेल लगायतले शुभाकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा व्याडमिन्टन प्रतियोगिताका बिजेता तथा रेफ्रीहरु, कविता प्रतियोगिताका मुल्यांकनकर्ता, प्रदेश अस्पताल र मोदीकाली ब्याडमिन्टन संघलाई प्रसंसा पत्र वितरण गरिएको थियो ।
निजामती सेवा दिवस मुल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तथा कविता प्रतियोगिताका संयोजक दिपक सुवेदीले गर्नुभएको थियो ।कार्यक्रमको संचालन भरत सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!