मोदीमा पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि फेरीपनि नबजागृतलाई, अध्यक्ष कपको उपाधि फलेवासलाई - News site from Nepal

पर्वत- मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा रनिङ शिल्ड तर्फ नव जागृत मावि तिलाहार प्रथम भएको छ भने अध्यक्ष कप फलेबासले हात पारेको छ ।

प्रतियोगितामा २० स्वर्ण, ९ रजत सहित कुल २९ पदक प्राप्त गरी नव जागृत मावि तिलाहारले प्रथम स्थान हासिल गर्दै शिल्ड प्राप्त गर्न सफल भएको छ । नबजागृत माविले यो उपाधि सहित लगातार चार ओटा संस्करण जितेको हो । जित सँगै सो विद्यालयले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यसै गरी नव ज्योति थम मावि भुक १ सेराबेंशीले ४ स्वर्ण , ३ रजत, र २ कास्य पदक गरी कुल ९ पदक सहित दोस्रो स्थान हासिल गरी नगद रु २०, हजार पुरस्कार प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा पशुपति मावि राम्जाले ३ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १८ पदक सहित तृतीय स्थान हासिल गरेको छ । सो विद्यालयले नगद रु दश हजार पुरस्कार समेत प्राप्त गरेको छ ।

त्यसैगरी सरस्वती मावि बाजुङले २ स्वर्ण , ६ रजत र ६ कास्य पदक गरी कुल १४ पदक प्राप्त गरी चौथो स्थानमा ओगटेको छ ।

भुक देउराली माविले १ स्वर्ण १ रजत र ३ कास्य गरी कुल ५ पदक सहित पाँचौं स्थान हासिल गरेको छ ।

त्यसैगरी जनसिद्द मावि चित्रे ४ रजत र ५ कास्य गरी कुल ९ पदक सहित छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी लेस्पार माविले १ रजत , भवानी आधारभूत विद्यालयले २ कास्य , हिमालय मावि देउरालीले १ कास्य, महेन्द्र शिखरी मावि बाजुङले ३ कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा छात्र र छात्रा भलिबल तर्फको दुवै खेल नव जागृत माविले जितेको छ।

३० स्वर्ण, ३० रजत र ३० कास्य गरी कुल ९० पदकका लागि भएको प्रतियोगितामा सहभागी १२ मावि र ३ आबि गरी १५ ओटा स्कूलहरु मध्ये पाँच ओटा स्कूलले कुनै पनि पदक प्राप्त गर्न सकेनन् । देउपुरको जननेत्र मावि, तिलाहार गिज्यानको तुलोदय मावि, देउपुरकाे पशुपति आबि, देउपुर नमुना मावि र क्याङ कर्बाकेली आवि पदक विहिन भएका हुन् ।

त्यसैगरी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले जितेको छ । जितसँगै फलेबासले एक लाख रुपैयाँ हात पारेको हो । सो प्रतियोगितामा मोदी गाउँ पालिकाले द्वितीय स्थान हासिल गरी ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने कुस्मा नगरपालिकाले तृतीय स्थानमा चित्त बुझाएको छ । कुस्माले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

सो खेलमा वेस्ट लिब्रो फलेबासका आदित्य मल्ल, वेस्ट सेटर सुबास कुँवर, वेस्ट कोच रमेश श्रेष्ठ, वेस्ट ब्लकर मोदीका आकाश नेपाली, राइजिङ प्लेयर मोदीका सलिन लामिछाने, वेस्ट स्पाइकर मोदीकै सुशील कुँवर, वेस्ट सर्भर विद्वान विक , वेस्ट प्लेयर विष्णु क्षेत्री घोषित भएका छन् ।

सो अवसरमा खेल सँगै लोक भजन, लोक नृत्य, रत्यौली, म्यूजिकल चियर, लठ्ठो तान्ने खेल समेत सञ्चालन भएका थिए । लोक भजन तर्फ थामार्जुङ भजन मण्डली प्रथम, डीमुवा भजन समुह द्वितीय, र श्री कृष्ण भजन समुह तृतीय भए। लोक नृत्य तर्फ शिव आधारभूत विद्यालय प्रथम, नवज्योति थम मावि द्वितीय, नबजागृत मावि तृतीय र क्याङ कर्बाकेली आविले सान्त्वना स्थान प्राप्त गरे । रत्यौली तर्फ डीमुवा आमा समुह प्रथम, मोदी दिदी बैनी समुह द्वितीय र देउराली आमा समुह तृतीय भए ।

त्यसै गरी ब्याडमिन्टन तर्फको बि लेभलको उपाधि लक्ष्मण कुमार श्रेष्ठ र जगदिश सुवेदीको जोडीले हासिल गर्यो भने सी लेभलको उपाधि निर्दोष लामिछाने र विनोद सेन्चुरी को जोडीले हात पार्यो ।

छ दिनसम्म चलेको खेलमा सहभागी र दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । खेल अवधिभर गाउँ पालिकाले सम्पूर्ण विद्यालयहरूमा सट्टा बिदाको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!