पर्वतको क्याङ् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा - News site from Nepal
पर्वतको क्याङ् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिकाको वडा नं ४, क्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
शुक्रवार आयोजित एक समारोहमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि बालबालिकाको बचाउ, संरक्षण, बिकास र सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री शासनका सबै सूचक पुरा भएपछि बालमैत्री वडा घोषणा गरिएको हो ।


बालमैत्री वडा घोषणा गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विकले बालबालिकाहरुको हक अधिकार सुरक्षित गर्नुका साथै उनिहरुलाई हरेक क्षेत्रमा साझेदारको रुपमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो । अझैपनि विभिन्न क्षेत्रमा बालअधिकार हनन् भैरहेका घटनाहरु सुनिदै आएको बताउँदै बालबालिकाको भविष्य निर्माणका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले घोषणा गरेर मात्र नहुने भन्दै यसलाई पुर्ण कार्यान्वयन र निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी, जिल्ला शिक्षा समन्वय इकाई पर्वतका प्रमुख मतीलाल चपाई, प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य, साझेदार संस्था सोडेक नेपालका देविप्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा अध्यक्ष मोहन चोचाङ्गी र संचालन शिक्षा अधिकृत प्रकाश क्षेत्रीले गर्नुभएको थियो । सो अवसरमा स्थानीय कला संस्कृति र लोपोन्मुख सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।
नेपाल सरकारले २०८७ साल भित्र सबै स्थानिय तहलाइ बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यलाइ शिरोधार्य गर्दै मोदी गाउँपालिकाले चार वटा वडाहरुलाइ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ ।
बालबालिका भविष्यका कर्णधार मात्र नभइ वर्तमानका साझेदार पनि भएकोले गाउँपालिकाले स्थानिय शासन, बिकास र सेवा प्रवाहमा बालबालिकाको पहुँच, प्रतिनिधित्व र सहभागिताका लागी सहज वातावरण निर्माणमा जोड दिने उद्देश्यका साथ कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!