चार जिल्लाका युवाहरुलाई स्काउट आधारभूत तालिम - News site from Nepal
चार जिल्लाका युवाहरुलाई स्काउट आधारभूत तालिम

पर्वत- गण्डकी प्रदेशका चार जिल्लाका युवाहरुलाई समेटेर आयोजना गरिएकोे स्काउट आधारभूत (बि.टि.सि) तालिम महाशिलामा सम्पन्न भएको छ । कास्की, पर्वत, बागलुङ र म्याग्दी जिल्लालाई समेटेर आयोजना गरेको ६ दिने तालिम महाशिला–५ लुंखुमा सम्पन्न भएको हो ।

तालिममा २८ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीलाई शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भावनाको विकाससँग सम्बन्धित जानकारी गराईएको छ । साथै अनुशासन, सदाचार, नैतिकताका विषयबारे पनि सिकाईएको थियो । विपद्पछिको उद्धार, राष्ट्र निर्माणमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा पनि तालिम दिइएको प्रदेश स्काउट कार्यालयका कोर्ष लिडर सागर पौडेलले जानकारी दिनुभयो । सहभागीले तालिम प्रश्चात आफ्नो क्षेत्रमा ११ देखि १६ वर्ष उमेरका किशोरकिशोरीलाई पनि विभिन्न विषयमा जानकारी दिनुपर्ने पौडेलले बताउनुभयो ।

स्थानीय स्काउट कार्यालय महाशिला गाउँपालिकाको समन्वय तथा प्रदेश स्काउट कार्यालयका गण्डकी प्रदेशको व्यवस्थापनमा आवासिय सहित तालिम आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुषालले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताउनु भयो ।

गाउँपालिकाकी उपाध्याक्ष धनसुबा विकले नेतृत्व विकास सँगै अनुशासन, व्यवहारिक ज्ञान, सामजिक क्षेत्र र विपद व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा सामजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश खेलकुद शाखा प्रमुख टंकप्रसाद ढकाल, महाशिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे र वडा नम्वर ६ फलामखानीका वडा अध्यक्ष गोविन्द वहादुर वि.कले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो । उक्त कार्यक्रमको संचालन प्रदेश स्काउट कार्यालयका अधिकृत विजय पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!