महिलालाई मादल बजाउन सिकाउँदै पर्वतका स्थानीय तह - News site from Nepal
महिलालाई मादल बजाउन सिकाउँदै पर्वतका स्थानीय तह

पर्वत- स्थानीय तहहरु नागरिकको सवैभन्दा नजिकका सरकार हुन् । नागरिकहरु हरेक कामका लागि पहिलोपटक जाने भनकै स्थानीय वडा र पालिका हुन् ।

स्थानीय तहहरुले कृषि, पशुपालन, फलफुल खेती, होजियारी, क्षमता विकास लगायत लोकसेवा तयारी कक्षाहरु संचालन गर्दै आएको त हामीले देखेकै छौ । पर्वतका स्थानीय तहहरुले भने मादल बजाउने बाद्यबादन सम्वन्धि तालिम पनि संचालन गर्न थालेका छन् ।

जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाले महिलाहरुलाई मादल बजाउने तालिम संचालन गरेका हुन् । कुश्मा नगरपालिकाले १२ वटा वडाका महिला सहकारी संस्था र आमा समुहमा आबद्व २८ जना महिलाहरुलाई १० दिने तालिम दिएको हो ।

महिलाहरुलाई बाद्यबादनको सिप सिकाएर आत्मनिर्भर र स्वरोजगारमुखि बनाउने उद्धेश्यले मादल बजाउने तालिम संचालन गरिएको कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले बताउनुभयो । ‘मादल बजाउने सिप परम्परागत भएपनि आधुनिक गीत, संगित र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेको अवस्थामा हामीले तालिम संचालन गरेका हौ’ उपप्रमुख रिजालले भन्नुभयो ।

बेरोजगार महिलाहरु गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकुन भन्ने मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो । कुश्मा नगरपालिकाको ७५ प्रतिशत लागत साझेदारी र महिला सहकारी संस्था समुहको २५ प्रतिशत साझेदारीमा मादल खरिद गरि महिला समुहलाई मादल समेत हस्तान्तरण गरिएको छ ।

यस्तै मोदी गाउँपालिकाले अध्यक्षसँग दिदीबहिनी कार्यक्रम अन्तर्गत महिलाहरुलाई मादल बजाउने सिप सिकाउने भएको छ । यहि फागुन २० गतेदेखि १० दिनसम्म तालिम संचालन गर्न थालिएको गाउँपालिकाकी अध्यक्ष हिरादवी शर्माले बताउनुभयो । महिलाहरुलाई स्वरोजगार, सामाजिक योगदान एवम् आत्मनिर्भर बनाउनका लागि पहिलोपटक तालिम संचालन गर्न थालिएको उहाँको भनाई छ ।

मोदी गाउँपालिकाले महिला सहकारी संस्था, महिला समिति तथा आमा समुहमा आवद्ध महिलाहरुमध्ये एक एक जनालाई छनौट गरी तालिम दिने तयारी गरेको अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार पालिकाले सुचना प्रकाशननै गरेर मादल बजाउने तालिम लिन इच्छुक महिलाहरुलाई सम्पर्कमा आउन समेत आव्हान गरेको छ ।

मादल बजाउन नजानेकै कारण ग्रामीण क्षेत्रमा रहेका मौलीक सांस्कृतिक भाकाहरु समेत लोप हुँदै जान थालेका छन् । हरेक कार्यक्रम र सभा समारोहमा कलाकार बोलाउने र स्पिकर मार्फतनै गीतसंगित बजाउने प्रचललन हाबी भएकाले मौलीक संस्कृतिको जगर्नाका लागि तालिम दिएर महिलाहरुलाई त्यसतर्फ आकर्षित गर्न थालिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत बाबुराम पुरीले बताउनुभयो ।

दश दिनसम्म सिप सिकेपनि महिलाहरुले जस्तोसुकै कार्यक्रममा पनि बाद्यबादनको काम गर्न सक्ने पालिकाको विश्वास रहेको छ । हामीले लोकसेवा, शिक्षकसेवा, एसएलसी तयारी कक्षा, पशुपालन, बाख्रपालन, कुखुरापालन, मिनिटेलर मर्मत, कृषि तथा शैक्षिक विकासका तालिमहरु पनि दिँदै आएका छौ, यसपटक महिलाहरुको धेरै माग भएकाले मादल बजाउने तालिम संचालन गरिएको पुरीको भनाई छ ।

जिल्लाको महाशिला, पैंयूँ र विहादी गाउँपालिकामा शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी कक्षाहरु संचालन गरिएको छ । महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि स्थानीय सरकारहरुले विभिन्न तालिम तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!