पर्वतमा मनाईयो विश्व दुध दिवस - News site from Nepal
पर्वतमा मनाईयो विश्व दुध दिवस

पर्वत, १८ जेठ : विश्व दुध दिवस पर्वतमा एक समारोह बीच सम्पन्न भएको छ । पर्वत डेरी एशोसिएसन र भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा सदरमुकाम स्थित बाल मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दुधका परिकार खुवाएर दिवस मनाईएको हो ।
सो अवसरमा सहभागि विद्यार्थी र अतिथिहरुलाई दुध, दुधवाट बनेको खिर र पनिरका परिकार खुवाईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले दुध तथा दुग्धजन्य बस्तुहरुको उपभोग गर्ने संस्कृतिलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेका बालबालिकाहरु सानै उमेरदेखि दुधको उपभोग नगर्ने संस्कृति मौलाएको बताउँदै जन्मेदेखि मृत्युपर्यन्त दुध पिउनु स्वास्थ्यका लागि निकै लाभदायक हुने बताउनुभयो । उहाँले पशुपालनतर्फ आकर्षण बढाउँदै दुधलाई सस्तो, गुणस्तरीय र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयका अधिकृत भिमप्रसाद अर्याल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा, बाल मन्दिर प्रावि व्यवस्थापन समिति अध्यक्ष विपिन गुरुङ लगायतले बोल्नुभएको थियो ।
भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका निमित्त कार्यालय प्रमुख रामकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पर्वत डेरी एशोसिएसनका निबर्तमान अध्यक्ष शिव शर्मा पौडेल र संचालन पर्वत डेरी एशोसिएसनका अध्यक्ष हरि सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु सेवा प्राविधिक गणेश रिजालले दुधको महत्व, औचित्य र आवश्यकताका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!